• २०८१ बैशाख १६ आइतबार

अरिङ्गालले टोकाइबाट युवाको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा टोकाइबाट मृत्यु भएको छ ।

साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिङ्गालले टोकेका जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको  स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए । अरिङ्गालले चिलेर  अन्य चार युवा घाइते भएको पनि उनले जानकारी दिए । 

बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिङ्गालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिङ्गाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिङ्गालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए ।

अरिङ्गालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी गराए । 

बर्सेनि जाँते नजिकैको पाखाका जङ्गल र चौलानेका जङ्गलमा स्थानीयवासीले अरिङ्गालको सिकार गर्दै आएका छन् । यसपटक पनि कालो अरिङ्गालको सिकार गर्न गएका दिवशसहितका युवाले अरु सिकारीले छाडेका कालो अरिङ्गालको गोलो सिकार गर्न लाग्दा पहिल्यै अरिङ्गालले आक्रमण गरेको धनबहादुरको भनाइ थियो  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै