• २०८१ बैशाख २५ मंगलबार

प्रेस काउन्सिललाई अनलाईन मिडिया नियमन गर्ने बाटो खुल्यो

kharibot

काठमाडौँ । उच्च अदालत पाटनले बुधबार अनलाइन मिडिया नियमनका विषयमा प्रेस काउन्सिल नेपालको पक्षमा फैसला गरेको छ ।

काउन्सिलले पत्रकार आचारसंहिताबमोजिम नेपाल आज डटकम अनलाइनलाई सूचीकरणबाट हटाउने गरी गरेको कारबाहीमाथि दायर रिट निवेदनको अन्तिम फैसला गर्दै उच्च अदालत पाटनले नेपाल आजको रिट नै खारेज गरिदिएको काउन्सिलका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए ।

आचारसंहिताविपरीत कार्य गरेपछि कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने काउन्सिलको निर्णयविरुद्ध नेपाल आज डटकमका सञ्चालक माधव प्रसाद गुरागाईंले रिट दायर गरेका थिए । पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अटेर गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै काउन्सिलले उक्त अनलाइनलाई सूचीकरणबाटै हटाएको थियो ।

काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै नेपाल आजले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले गत असार ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

फैसलाअघि अदालतले निर्णयका सक्कल मिसिल माग गरी अध्ययनसमेत गरेको थियो । उक्त मुद्दा बुधबार पेसी तोकिएकोमा न्यायाधीशद्वय राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासबाट रिट खारेज हुने फैसला भएको हो । यस फैसलासँगै काउन्सिललाई अनलाइन र न्यु मिडियाका लागि नियमन र अनुगमनको पाटो थप स्पष्ट भएको छ । फैसलाको पूर्णपाठ आउन केही समय लाग्ने लुईंटेलले बताए । 

सो मुद्दामा काउन्सिलको तर्फबाट अदालतमा अधिवक्ताहरू लुइँटेल, झबिन्द्र भुसाल र प्रतिभा उप्रेतिले बहस गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै