काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठनमा सबै विकल्पमा विचार गर्ने विषयमा छलफल शुरु गरेको छ ।
शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको पदाधिकारी बैठकले पुरानो गठबन्धन छोड्ने निर्णय नभएको र नयाँ विकल्प पनि खुला राख्ने विषयमा छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
बैठकपछि कुराकानी गर्दै उपाध्यक्ष महराले भने ‘प्रारम्भिक समिक्षा गरियो, अपेक्षा गरे जति सिट हासिल गर्न सकिएन भन्ने समिक्षा गरियो र बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन र अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’
महरालाई एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राख्नु भएको हो भन्ने प्रश्नमा उनले सबै विकल्प खुल्ला छ भन्दै पुरानो गठबन्धनलाई छोड्ने निर्णय भने नगरेको बताए ।
अहिले कांग्रेससँग नयाँ सरकार गठनमा छलफलमा रहेको माओवादी केन्द्रले शुरुमै आफुले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गरिरहेको छ । काँग्रेसले माओवादीकेन्द्रको यस मागलाई नजरअन्दाज गरेमा एमालेसँग मिलेर सरकार बनाउने विकल्प समेत माओवादीले खुला राखेको आजको बैठकले संकेत गरेको छ ।