काठमाडौँ । दक्षिण अफ्रीकाले अस्ट्रेलियासँगको विवादस्पद सिरिज आफ्नो कब्जामा लिएको छ ।
चार टेस्ट खेलको सिरिज ३-१ को जित हासिल गर्दै सिरीजी कब्जा गरेको हो । दक्षिण अफ्रिकाले घरेलु मैदानमा सन १९७० देखि अस्ट्रेलियाविरुद्ध पहिलो पटक टेस्ट सिरिज जितेको छ ।
अन्तिम टेस्टको पाँचौ दिन ६१२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया केबल ११९ रनमा अल आउट भएपछि दक्षिण अफ्रीका ४९२ रनले चौथो टेस्ट जित्दै सिरिजमा ३-१ को कब्जा गरेको हो । अस्ट्रेलियालाई ११९ रनमा अलआउट गर्न दक्षिण अफ्रिकाका बलर भेरनन फिलानदरले ६ विकेट लिएका थिए । खेलको पाचौ दिन ८८ रनमा तिन विकेटको अवस्थाबाट खेल्न सुरु गरेको अस्ट्रेलियाले बाँकी ७ विकेट केवल १७ ओभरमा ३१ रन बनाउदा गुमाएको थियो ।
यस अघि दक्षिण अफ्रीकाले पहिलो इनिंगमा ४८८ रन बनाएको थियो भने अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा केबल २२१ रन बनाउदा दक्षिण अफ्रीकाले २६७ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाले दोस्रो इनिंगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट गुमाएर ३४४ रन बनाउदै अस्ट्रेलियालाई ६१२ रनको लक्ष्य दिएर आफ्नो पारि समाप्तिको घोषणा गरेको थियो ।
यो सिरिज अस्ट्रेलिया क्रिकेटको इतिहासमै सबैभन्दा बढी चर्चित र विवादस्पद बन्यो । तेस्रो टेस्ट खेलको तेस्रो दिन अस्ट्रेलियाका खेलाडी क्यामरन बेन्क्रफ्ट क्यामरामा बल बिगारिरहेको अवस्थामा पक्रिएपछि सुरु भएको विवादले कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई एक बर्षको प्रतिबन्ध लाग्यो भने बल बिगार्ने बेन्क्रफ्टलाई ९ महिनाको प्रतिबन्ध लाग्यो । टिमका कोच डेरेन लेहम्यानले यसै टेस्टपछि आफ्नो कोच पदबाट राजीनामा दिइसकेका छन् ।