• २०८१ बैशाख २४ सोमबार

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसी प्रहरी नियन्त्रणमा

kharibot

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौँबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बुझिएको छ। तर, घटना गुपचुप राखिएको छ ।

सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले आइतबार साँझ निवासमा खानतलासी गर्दा लाखौं नगदसमेत फेला पारेको ईलाका प्रहरी कार्यालय स्रोतले बताएको छ ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो ।

आइतबार साँझ बुटवल आएको प्रहरी टोलीले केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरी स्राेतले बताएको छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेका थिए । आइतबार व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो ।

यसअघि नै ईलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौँबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ ।

केसी करिब १३ महिनाअघि बुटवल आएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले यसबारे आफूले पनि थाह पाएको तर आधिकारीता बारे बुझ्न अनुसन्धान टोलीलाई भेट्न जान लागेको बताए । ‘म अनुसन्धान टोलीलाई भेट्दैछु, त्यसपछि आधिकारिक कुरा के हो बताउँला,’ रेग्मीले भने ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए । ‘यो प्रहरी प्रधान कार्यालयबाट भएको काम हो, जिल्लामा सिआईबीले सघाएको होला,’ थापाले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै