• २०८१ बैशाख १६ आइतबार

कांग्रेस कपिलवस्तुमा किचलो- ११ नेतामाथि कारबाहीको सिफारिस

kharibot

बुटवल  । गत निर्वाचनको परिणामलाई लिएर नेपाली कांग्रेस कपिलवस्तुमा किचलो सुरु भएको छ । पार्टीका जिल्ला सभापतिमाथि गम्भीर आरोप लगाउँदै कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहले कारबाहीको माग गरेका छन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाएर पार्टीका जिल्ला सभापतिमाथि निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै कारबाहीको माग गरेका हुन् । कांग्रेस कपिलवस्तुका एक जिल्ला नेताले पार्टीभित्र चरम असन्तुष्टि सिर्जना भएको बताए । “यही अवस्था हो भने धेरै कार्यकर्ता पार्टीमा नरहने अवस्था छ,” उनले भने ।

युवा नेता शाहले भने पार्टीका कपिलवस्तुका सभापति अब्दुल कलामलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न माग गरेका छन् । उनी ४ मंसिरमा सम्पन्न निर्वाचनमा कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्यमा लडेका थिए । तर पराजित भए । निर्वाचनमा पराजित भएपछि शाहले जिल्ला सभापति कलामसँगै अन्य ११ जना नेतामाथि पनि कारबाही गर्न माग गरेका छन् ।

उनले जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, प्रवक्ता ईश्वरी पाण्डे, जिल्ला सदस्य हरिप्रसाद पोखरेललाई पनि साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरेका छन् । पत्रमा कपिलवस्तु–३ (ख) प्रदेशसभाका उम्मेदवार वीरेन्द्रकुमार कनौडिया, शिवराज नगरपालिकाका नगर सभापति मधु पोखरेललगायतको नाम पनि उल्लेख छ ।   

२०६४ देखि लगातार चुनाव जित्दै आएका शाह पाँचदलीय गठबन्धनको साथ पाएर पनि हारेपछि दलकै नेताहरूको असहयोगले चुनाव जित्न नसकेको बताउँदै आएका छन् । यसअघि क्षेत्रीय समितिले नेता शाहलाई कारबाहीका लागि सिफारिस गरेको थियो । कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिले शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै