जनआन्दोलनका घाइते नन्दप्रसाद भन्छन –‘कि देश बनाऊ ! नत्र मलाई सिटामोल दिलाऊ’

खरीबोट
ad

काठमाडौं । मैले ख्याल गरेअनुसार, मैले मेरो आमासँग गरेको पहिलो प्रश्नको उत्तर थियो , ‘बाबु ! तँ डेढ वर्षको हुँदा तेरो बाबु हराउनुभयो ।’ जब आमाको उत्तर सुनेँ, त्यसपश्चात् ओइरिए भेलहरु – कहिले, कहाँ, कसरीलगायतका यावत् प्रश्नहरुको ।

तर आमाले जसरी पहिलो प्रश्नको उत्तर दिनुभएको थियो, त्यसपछि कुनै पनि प्रश्नको उत्तर उहाँबाट पाउन सकिनँ । विस्तारै म हुर्किँदै थिएँ र थाहा पाएँ कि २०३६ सालमा पञ्चायतकालमा मेरो बाबा बेपत्ता हुनुभएको रहेछ ।

धादिङको एउटा विकट गाउँमा जन्मिएको थिएँ । आर्थिक अवस्था एकदमै कमजोर थियो । बाबालाई खोज्न र आमालाई सुख दिने सपना बोकेर म पञ्चहरुको गाउँलाई छोडेर राजाको ‘देश’ काठमाडौँ भित्रिएँ । 

राम्रो पढाइ थिएन जागिर खानको लागि, मजदुर गरेर जसोतसो अडिएको थिएँ । बाबाको खोजीको अपिल गर्दै दरबारको सचिव चिनेको छु भन्ने धेरैको पाउ मोल्न पुग्थेँ । तर सुनुवाइ कहीँ कतैबाट भएन ।  गाउँ फर्किन्थेँ – बेलाबेलामा आमाको लागि सानो झोला बोकेर ।

गाउँका सबै साथी संगीका घरमा बाबा थिए । तर नहुनेहरुको घरमा वर्षेनी श्राद्ध आउँथ्यो ।  तर न मेरो बाबाको श्राद्ध आउँथ्यो, न त घरमा बाबा नै हुनुहुन्थ्यो । र फर्किन्थेँ फेरि यही राजाको ‘देश’ बाबा फेला पार्ने आशासहित । 

राजा ज्ञानेन्द्रका विरुद्ध अखबारहरुमा विभिन्न नकारात्मक कुराहरु पढेको थिएँ, जसले मेरो रगत उम्लिएर आउँथ्यो । २०६२ चैत २४ गतेबाट सुरु भयो दोस्रो जनआन्दोलन र होमिएँ म पनि । पहिलो दिनदेखि नै । आन्दोलनको १७औँ दिनका दिन म गोंगबुमा गीत गाउँदै थिएँ । मेरो अगाडि एक हुल प्रहरी आइपुगेकोसम्म याद छ मलाई ।

होसमा आउँदा म  अस्पतालको शय्यामा थिएँ । अनि मलाई थाहा भयो कि मेरो टाउकोमा २४ टाँका लगाइएका छन् । जति बेला घाउको दुःखाइ महसुस हुनथालेको थियो । त्यतिबेलै सुनियो एउटा खुसिको खबर । त्यो थियो – राजा ज्ञानेन्द्र श्रीपेच खोल्न राजी भए ।

त्यही खुसीले मलाई कति बेला सडकमा ल्यायो थाहा छैन । म नाच्दै गर्दा मेरो घाउको टाँका चुडिएछन्, र रगत बन्नथाल्यो । त्यतिबेला मैले मेरो रगतलाई नेपाल आमाको आँशुसँग तुलना गरे ।

अब त देशमा परिवर्तन हुन्छ भन्ने आशा थियो । गरिबका झुपडीहरुमा पनि बिहान, बेलुका दुवै छाक चुलो बल्छ भन्ने विश्वास थियो । र दलका नेताहरुलाई राजाले बाँधेको दाम्लो फुकाउन आफूहरुले गरेको योगदानको कदर अवश्य हुन्छ भन्ने थियो । दिनहरु बित्दै गए नेताहरुले आफ्नो परित्र प्रस्तुत गर्न थाले ।

सरकार बन्ने र ढल्ने प्रक्रियाहरु चल्न थाल्यो ।  संसद् भवनभित्र सरकारी सम्पत्तिको तोडफोड गरेको पनि देख्नुपर्यो । संविधान पनि आयो । जब संविधानका पानाहरुमा आफूहरु अटाउन नसकेको महसुस भयो । त्यसपश्चात् आन्दोलनमा मर्न नपाएकोमा पछूतो लागेको छ  ।

समय त १२ वर्ष भइसक्यो र पनि टाउको दुख्दा लाग्छ म १२ दिन अगाडि घाइते भएको हुँ ।  घाइतेको परिचयपत्र पाउन पनि आन्दोलन गर्नुपर्यो । हिजो राजा हुँदा बाबुको खोजी गर्दै दरबार पुग्ने म आज उपचारको खोजी गर्दै नेताहरुको दरबार पुग्ने गर्छु, फरक केही छैन गेटमा बसेको गार्डले नै समस्या टिप्छ र फर्काइदिन्छ । 

देशमा नयाँ सरकार आएको छ । ढिलै भए पनि हामी घाइतेहरुको तर्फबाट स्थिरताको शुभकामना छ । हाम्रा आन्दोलनका उद्देश्यहरु अझै पूरा भएका छैनन् । अझै सर्वसाधारण जनताको घरमा दुई छाक चुलो बल्नसकेको छैन । सीमामा रहेका नेपालीहरुले नेपाली हुनुको अनुभूति गर्नसकेका छैनन् ।

कर्णालीमा समयमा औषधि र पुस्तक पुग्दैनन् । तराईमा चेलीहरु अझै पनि जल्न विवश छन् । नेपाली युवाहरुलाई मरुभूमिसम्म छाडेर फर्किने  जहाजको कमी भएको छ । नेपालका चिनारीहरु लोपोन्मुख अवस्थामा छन् । शिक्षा र स्वास्थ्यमा व्यवसायीकरण छ । धनी र गरिबबीच ठूलो खाडल छ, मर्नुभन्दा पहिले त्यो खाडल पुरिएको हेर्ने ठूलो चाहना छ  ।

चाहना छैन, हामीलाई यो देशको मन्त्री बनाइयोस् भन्ने, माग यत्ति हो कि दुःखेको घाउ कम गर्ने सिटामोल निःशुल्क दिलाइदेऊ । हामी पनि अपाङ्ग भएका छौँ । जति सक्छौँ मासिक भत्ताको व्यवस्था गराइदेऊ ।

हामीलाई दुःख लागेको छैन कि आन्दोलनमा घाइते हुनुपर्दा, दुःख त त्यस मानेमा लागेको छ कि हाम्रा घाउहरुले अझै उपचार पाउनसकेका छैनन् । यो देशको राजनीतिक परिवर्तनमा हाम्रो पनि त केही हदसम्म योगदान छ होला नि !

यदि साँच्चै छ भने हाम्रो मागहरुको पनि सम्बोधन होस् ! ता कि फेरि पनि यो देशको निमित्त लड्ने युवाहरुको लागि लड्ने नवयुवाहरुलाई प्रेरणा मिलोस् ! 

सम्बन्धित समाचार

गगनको गृहमन्त्रीलाई प्रश्न -छानबिनलाई प्रभावित हुने विचार राख्ने प्रधानमन्त्रीलाई प्रश्न सोध्ने हिम्मत गर्नुभयो ?

काठमाडौँ। प्रतिनिधि सभामा नेपाली काँग्रेसका युवा नेता गगन थापाले निर्मलाको हत्या प्रकरणमा निष्पक्ष छानिबनमा प्रधानमन्त्रीले प्रभाव पारेको विषयमा गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरेका छन्।  गगन थापाले भने, 'निर्मल हत्या प्रकरणमा दुई

गजलमा लय किन आवश्यक ? 

हरिसिद्धि, ललितपुर। गजलका बारेमा धेरै बहस गरियो तर ती कुनै पनि उत्पादक भने भएनन् । लयलाई लिएर धेरै वर्ष अगाडिदेखि गजलमा विवाद हुँदै आएको छ र अहिले पनि यो विवाद

किन बढ्दै छ छोरीमाथि क्रुरता ?

काठमाडौँ। पछिल्लो आर्थिक वर्ष २०७४÷७५ प्रहरी तथ्याङक अनुसार मात्र १२ सय ४४ जना महिला बलात्कारको शिकार बनेका छन् । अघिल्लो वर्षको तुलनामा यो आवमा १ सय १३ जनाले बढि हो

निराश नेपाली यूवा !

काठमाडौँ। अंग्रेजी विषयवाट स्नातकोत्तर पढ्दै गरेको मेरो मिल्ने साथी दुवइको डिपीएस सेक्युरिटी गार्डको सपना वुन्दै काठमाडौ आएको छ उ नेपालमा विकल्प देखेको छैन र राजनैतिक गतिविधि प्रति त्यति रुचीपनि राख्दैन (तथापी