• २०८१ बैशाख २४ सोमबार

सोनाह परिवारः पक्की घरमा बस्ने सपनामा अधुरै

kharibot

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त नगरपालिकामा मात्रै बसोबास रहेको अल्पसङ्ख्यक सोनाह जातिका नागरिक दशकौँदेखि यहाँ रहँदै आए पनि दैनिकी भने कष्टकर छ ।

हिउँदमा महाकालीमा गिट्टी कुट्नेदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका भीमदत्त–१२, १३ र १७ मा बसोबास रहेका सोनाह परिवारको आर्थिक अवस्थामा सुधार आउन सकेको छैन । यहाँको भीमदत्त–१७ मा रहेका राम सोनाहले दशकौँदेखि सोनाह जातिको बसोबास रहेको बताए ।

“यहाँ पुर्खादेखि बसोबास रहे पनि ज्याला मजदुरी गरेर बाँच्नुपर्ने बाध्यता छ”, उनले भने, “अहिले त गाउँघरमा मजदुरी गरौँ भने पनि काम पाउँदैन ।” एक वर्षअघि आफूसित रहेको आधा कट्ठा जमिन बेचेर बुबाको उपचारमा जुटेका रामले काम नपाउँदासम्म परिवारको खर्च जोहो गर्न समस्या रहेको बताए ।

“रु साढे तीन लाखको जग्गा बेचेर बुबाको उपचार गर्नाका साथै पक्की घरको सोखमा दुईकोठे भवन बनाउन थाले”, उनले भने, “रकम अभावले घर अधुरो रहेको वर्षदिन भइसक्यो ।” उनले लोपोन्मुख र अल्पसङ्ख्यक समुदायलाई सरकारले विभिन्न अनुदान र कार्यक्रममार्फत घर बनाउने कुरो गरे पनि आफूले केही नपाएको बताए ।

“जनता आवास कार्यक्रममार्फत सोनाहको घर बनाइदिने भनेपछि वडा कार्यालयमा गरेर निवेदन पनि दिएँ”, उनले भने, “राउटेलाई सांसद विकास कोषबाट घर बनाइयो भन्ने सुनेँ ।” उनले आयस्रोत न्यून भएका सोनाह जातिलाई पनि सरकारले घरबासका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । “अब ज्याला मजदुरी गर्न पाए अधुरो घर पूरा गरेर सर्ने योजना हो”, उनले भने, “कच्ची झोपडीमा बर्सातमा त रात काट्नै गाह्रो हुन्छ ।” कतिपय सोनाह परिवार महाकाली तटीय क्षेत्रमा बसोबास गर्दै छाक टार्न महाकालीको बगरको भरमा छन् ।

भीमदत्त–१२ का किसन सोनाहले दशकौँदेखि आफू परिवारसहित महाकालीमा गिट्टी, बालुवा छानेर जीविका चलाउँदै आएको बताए । “भन्नलाई अल्पसङ्ख्यक भनेर के के न सुविधा दिने कुरो गर्ने”, उनले भने, “यहाँ बगरमा काम नगरी घरमा चुल्हो बल्न मुस्किल हुन्छ ।”

उनले पनि सोनाह जातिलाई राज्यले बेवास्ता गरेकामा दुखेसो पोखे । “आयमूलक काममा लगाउन सीपमूलक तालिम लिन पनि सोनाह जातिको पहुँच नभए जस्तो अवस्था छ”, उनले भने, “अनुदानदेखि सीपमूलक तालिमसम्म पहुँचवालाले मात्रै पाउने हुन र ?”

भीमदत्त–१२ का वडाध्यक्ष भूपेन्द्र रावलले सोनाह जातिका लागि भनेर वडाले बङ्गुरपालन रकम विनियोजन गरिएको बताए । “पहिले यहाँ रहेको सोनाह जातिको अवस्था राम्रो भए पनि आर्थिक स्रोत नभएकै कारण अहिले कमजोर अवस्थामा आए”, वडाध्यक्ष रावलले भने, “विभिन्न सङ्घसंस्थाबाट आउने विभिन्न तालिममा पनि सोनाह जातिलाई प्राथमिकतामा राखेर पठाउन भनेका छौँ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै