काठमाडौं । हालै सम्पन्न नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा फिक्सिङको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्व क्रिकेटर महबुब आलम र क्रिकेटर आदिल अन्सारी रहेका छन् । आदिलले टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। तर मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन्।
उनीहरुलाई सोमबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
सीआइबीले नेपाल टी-२० मा फिक्सिङ भएको बारे प्रतियोगिता जारी रहेकै बेला अनुसन्धान गरेको थियो ।
प्रतियोगिता जारी रहेकै बेला नेपाल टी-२० मा फिक्सिङको विषय उठेको थियो । नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको सार्बजनिक रुपमै बताए पछि सीआइबीले अनुसन्धान शुरु गरेको थियो ।