• २०८१ बैशाख १४ शुक्रबार

दाङमा भैँसीपालनबाट आम्दानी

kharibot

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ।

छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको काममा व्यस्त देखिन्छिन् ।आठ वर्षदेखि भैँसीपालन गर्दै आउनुभएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य पनि यहीँ पेशामा संलग्न भएकी छन् । साथै उनले आफ्नो फार्ममा स्थानीय दुईजनालाई रोजगारी समेत दिएकी छन् । डाँगी पशुपालन पेसाबाट सन्तुष्ट छिन् । “वार्षिक रू सात लाख बचत गर्ने गरेकी छु, आम्दानी राम्रो भएपछि दैनिकी सहज भएको छ”, उनले भनिन् ।

बिहानको मिर्मिरे उज्यालोसँगै उनको व्यस्तता सुरु हुन्छ । परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले २०७० मा ‘शुभ भैँसी फार्म’ दर्ता गरी व्यावसायिक रुपमा भैंसीपालनको सुरुआत गरेकी थिइन् । उनले भनिन्, “सुरुमा रू एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हौँ अहिले फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।”

तीमध्ये १० वटा दुहुना भैँसी छन् । उनका अनुसार दैनिक ८० देखि ९० लिटरसम्म दूध तुलसीपुर बजारमा रहेको आफैँले डेरी उद्योगबाट बिक्रीवितरण गर्छिन् ।

कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भएपनि अहिले भने बजारको कुनै समस्या नरहेको डाँगीले बताइन् ।

“एक वर्षयता आफैँले  तुलसीपुर बजारमा डेरी उद्योग सञ्चालन गरेका छौँ, दाङमा दूधको फुटकर मूल्य ९० र दहीको रू एक सय प्रति लिटर छ, अहिले आम्दानी राम्रै भएको छ”, उनले भनिन्।

शुक्रबार डाँगीको  भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया  राधा पाण्डेले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले यहीँबाट लैजाने गरेको  बताइन् । “यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ”, उनले भनिन् । 

डाँगीले फार्ममा अहिलेसम्म रू ४० लाख लगानी गरिसक्नुभएको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रू २० देखि २२ लाखसम्म आम्दानी हुने गरेको छ ।

आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष रू सात लाख बचत गरेकी थिइन् । यसपटक डेरी पनि सञ्चालनमा रहेकाले बचत रकम  बढ्न सक्ने उनको भनाइ छ ।

घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको छ ।

“सरकारी निकायबाट प्राविधिक सहयोग पाएको छु तर आर्थिक सहयोग भने कुनै निकायबाट पनि पाएको छैन”, डाँगीले भनिन् । कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागि मानिसहरु आउने गरेका छन् । पैसा कमाउन र जीविकोपार्जन गर्न जागिर खानै पर्छ वा विदेश जानैपर्छ भन्ने छैन, आफूले पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय राम्रो क्षेत्रका रुपमा साबित हुने उनको बुझाइ छ । 

राज्य नारामा मात्र सीमित नभई कृषि व्यावसायमा लाग्नेलाई व्यावहारिक रुपमा सहयोग गरेर कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनसके कृषिमा आत्मनिर्भर हुनेको सङ्ख्या बढ्ने उनको धारणा छ । उत्पादित कृषि सामग्रीलाई उचित बजारको व्यवस्था गर्न सकेमा किसानलाई थप  हौसला प्राप्त हुने उनको अनुभव छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै