• २०८१ बैशाख १८ मंगलबार

दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल

kharibot

देउखुरी (दाङ)। घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो ।

धारापानी घुम्न आउनुभएका राजापुर नगरपालिका–३ मुरैयाका शिला आचार्यले साथीहरुमाझ चर्चा चलेकाले घुम्न आएको बताए ।

“धारापानीको चर्चा धेरै सुनेकाले घुम्न आएको हुँ, यहाँ आउन पाउँदा निकै खुसी लागेको छ”, उनले भने । त्रिशूल, ॐपोखरी  मन्दिरभित्र रहेको पार्क रमाउन पाउँदा आनन्द महसुस गरेको उनले सुनाए ।

धारापानीमै तुलसीपुर उपमहानगरपालिका– १९ का सविन केसी पनि भेटिए । शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी आएको उनले सुनाए । अरुले भनेको र सुनेकोभन्दा आफूले प्रत्यक्ष देख्न पाउँदा निकै फरक हुने भन्दै उहाँले यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । 

पछिल्लो समय पार्कसहितको पोखरी निर्माणले यहाँको सौन्दर्य बढाएको छ । घोराही बजारदेखि नौ किलोमिटर  दक्षिणमा पर्ने धारापानी मन्दिरमा निजी सवारी साधन, सार्वजनिक बस तथा अटोरिक्साबाट सजिल पुग्न सकिन्छ । सो स्थानसम्म पुग्ने सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थितिले चहलपहल  बढेको स्थानीयको भनाइ छ । धारपानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुको  त्रिशूल निर्माण गरिएको छ ।

पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको सङ्ख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । दाङलगायत छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको उनले सुनाए । 

यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको उनको बुझाइ छ । “दाङ आउने अधिकांश मानिस धारापानी पुगेको जस्तो लाग्छ”, उनले भने, “वनभोजका लागि यहाँ बाह्ैमहिना भीडभाड हुने गरेको छ ।”

अग्लो त्रिशूल, १०८ शिवलिङ्ग, १०८ बर पिपल जोडी, १०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजङ्गल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको सङ्ख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउछ । 

मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले धामदेखि करिब दुई सय किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई चार हजार नौ सय ६३ सिँढी बनाउने काम सुरु भएको छ । 

गेट निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापु लगायतका संरचना गुरुयोजना अनुसार बनेका छन् । गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताउनुभयो । सुनकोटमा  देवीको मन्दिर तयार गरेर भइसकेको छ । 

धारापानी धामलाई धार्मिक ग्रामका रुपमा विकशित गर्नका लागि दुईवटा खाजा घर, १२ वटा पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै