• २०८१ बैशाख २० बिहीबार

फोरजी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त- मन्त्री शर्मा

kharibot

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताएका छन् । बिहीवार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौति र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच समेत पुग्न नसकेको अवस्था रहेको बताए । उनले फोर जी सेवा बिस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।

मन्त्री शर्माले फोर जी सेवा लागू गर्दा लागेको लागत अनुसार प्रतिफल भए,नभएको विषयमा अध्ययन गर्नुपर्ने बताए । उनले विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समिक्षा गर्न सकेनौं भने लाभ भन्दा नोक्शानी बढ्नसक्ने तर्फ सचेत हुन आवश्यक रहेको पनि बताए ।

मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गरे । उनले देशका धेरै भू-भागहरू इन्टरनेटको न्युनतम सेवा समेत नपुगेको बताए ।

उनले विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको बताए । उनले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पु¥याउन निर्देशन दिए ।

मन्त्री शर्माले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको र हाईवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नै नआउने अवस्था रहेको बताए । उनले फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरेपनि त्यो लगानी खेर जाने स्थिति रहेको बताए ।

उनले  फोरजी राम्रोसँग नचल्दै फेरि फाइभजीमा लगानी गर्दा सरकारी लगानी खेर जाने अवस्था आउनसक्ने बताए । उनले विश्वमा आविष्कार भएको नयाँनयाँ प्रविधि आत्मसात गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन आवश्यक रहेको बताए । उनले नयाँ प्रविधि लागू गर्दा देशको अवस्था र विगतको लगानीलाई हेररे गर्नुपर्ने बताए । 

त्यस्तै,नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभजी सेवा अपेक्षा अनुसार नभएर पनि परीक्षण शुरु भएको बताए । उनले सरकार,नियमन निकाय र आम उपभोक्ताहरुले सोचेको जस्तो नभएको गुनासो गरे । उनले फाइभ जी सेवा परीक्षणको दायरा बढाउन आग्रह गरे । खनालले फाइभ जी प्रयोगकर्ताले परीक्षण गर्नुपनि परीक्षणको एउटा पाटो भएको बताए । 

उनले प्राधिकरणले नेपालमा फाइभ जी ल्याउँदा हुने फाइदाहरुको विषयमा अध्ययन गरिरहेको बताए । उनले राज्यले लगानी गरे अनुसार कस्तो प्रतिफल आउने विषयमा अन्तिम रिपोर्ट आउन बाँकी रहेको बताए । उनले नियमनकारी निकायले फाइभजी विषयमा सुक्ष्म रुपमा व्यवस्थापन नगर्ने सोच भएपनि अब सुक्ष्म रुपमा व्यवस्थापन गर्ने सोचमा पुगेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै