• २०८१ बैशाख १४ शुक्रबार

तालिबानी नेतृत्वमा विवाद

kharibot

काठमाडौँ । अगस्ट २०२१, तालिबानले कब्जा गरेदेखि अफगानिस्तानको अवस्था दयनीय रहेको छ । महिलाको काममा लगाइएको प्रतिबन्धले अवस्था झनै बिग्रिएको छ । डिसेम्बर २०२२ मा, तालिबानले महिलाहरूलाई गैरसरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाउने आदेश जारी गर्‍यो । तालिवानको यो निर्णयको विश्वभर आलोचना भएको थियो । विरोधमा, धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू अफगानिस्तानमा काम रोक्न बाध्य भए । त्यो पनि यस्तो समयमा जब अफगानिस्तानलाई सबैभन्दा बढी सहयोगको आवश्यकता थियो ।

अफगानिस्तानका २८ मिलियन भन्दा बढी मानिसहरूलाई बाँच्नको लागि सहयोग चाहिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  जसमा ६० लाख अफगानिस्तान भोकमरीको छेउमा पुगेका छन् । अफगानिस्तानमा काम गर्ने धेरै गैरसरकारी संस्थाहरूले तालिबानलाई प्रतिबन्ध हटाउन र सहायता एजेन्सीहरूलाई मानिसहरूसम्म पहुँच गर्न अनुमति दिन आग्रह गरेका छन् । अफगानिस्तान एक भूपरिवेष्ठित देश हो, जसको अधिकांश सुक्खा मरुभूमि रहेको छ । उत्पादनको नाममा फलफूल र केही विशेष तरकारी मात्रै छन् । मौसमको अनियमितताले अफगान जनतालाई पनि धेरै सताएको छ । यति हुँदाहुँदै पनि तालिबान झुक्न तयार छैनन् ।

तालिबानमा विभाजन

तालिबानले प्रतिबन्धको उद्देश्य महिलाको इज्जत र सम्मानको रक्षा गर्नु रहेको बताएको छ। अन्तर्राष्ट्रिय आलोचना र दबाबको बाबजुद तालिबान नेतृत्व आफ्नो निर्णय परिवर्तन गर्न तयार छैन । केही तालिबान नेताहरूले महिलामाथिको प्रतिबन्ध हटाउन आग्रह गरे, तर सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले विदेशी दबाबमा झुक्न अस्वीकार गरे । तालिवानको नरमपन्थी गुटमा हक्कानी नेटवर्कका नेता सिराजुद्दीन हक्कानी र तालिबानका संस्थापक मुल्ला ओमरका छोरा मुल्लाह याकुब सामेल छन् ।

नर्वेली शरणार्थी काउन्सिल (एनआरसी) का प्रमुख जान इगल्यान्ड, तालिबानलाई मनाउने ठूलो आशाका साथ जनवरीमा काबुल पुगेका थिए। तर सबै तालिबान गुटहरूलाई मनाउने उनको आशा निराशामा परिणत भयो र उनी खाली हात फर्किनु पर्यो । उनले समूहका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादालाई महिलाको काम गर्ने अधिकारमा प्रतिबन्ध लगाएको आरोप लगाए । संयुक्त राष्ट्रका उपमहासचिव अमिना मोहम्मदले पनि काबुलको भ्रमणपछि केही तालिबान नेताहरू महिला अधिकारका बारेमा खुला रहेको बताइन् ।

दोहा वार्ताको क्रममा अमेरिकी वार्ता टोलीको प्रमुखको रूपमा, जाल्मे खलिलजादले तालिबान नेताहरूलाई व्यक्तिगत रूपमा चिन्छन् । उनले अफगान महिलाहरूलाई गैरसरकारी संस्थाहरूमा काम गर्नबाट प्रतिबन्ध लगाउने निर्णय थोरै तालिबान नेताहरूलाई स्वीकार्य भएको बताए । उनले समूहको महिला विरोधी निर्णयका लागि समूहका शीर्ष नेता र आफू नजिकका व्यक्तिहरू जिम्मेवार रहेको औंल्याए ।

अखुन्दजादासँग खुसी छैनन् तालिवान नेता 

तालिबानका वरिष्ठ नेताहरू अखुन्दजादासँग खुसी छैनन् । यस्ता निर्णयलाई समर्थन पनि गर्दैनन् । यस्तो अवस्थामा तालिवानमा छिट्टै नेतृत्व परिवर्तन हुने सम्भावना छ । अखुन्दजादाको शक्तिका कारण काबुलभन्दा कान्दाहार महत्वपूर्ण भएको छ । सबै ठूला निर्णयहरु कान्दाहारबाटै हुने गरेको छ । काबुल भनेको राजधानी हो । अफगानिस्तानको तालिबान सरकारका आन्तरिक मन्त्री र हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानीले अहिले अनखुदजादालाई चुनौती दिइरहेका छन् । उनले ११ फेब्रुअरीमा खोस्त प्रान्तमा सम्बोधन गर्दै समूह भित्र एकाधिकारविरुद्ध सर्वोच्च नेतालाई प्रत्यक्ष चेतावनी दिएका थिए ।

याकुब र हक्कानीले खोले मोर्चा 

तालिबानका संस्थापक मुल्लाह ओमरका छोरा र तालिबान सरकारमा रक्षामन्त्री मुल्लाह याकुब मुल्ला हिबतुल्लाहले सत्ता कब्जा गरेकोमा असन्तुष्ट छन् । उनले खुलेआम हक्कानीको पक्ष लिइरहेका छन् । अफगानिस्तानबाट सोभियत संघ फिर्ता भएको ३४औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै याकुबले यो व्यवस्थालाई कुनै पनि हालतमा जोगाउनुबाहेक हामीसँग कुनै विकल्प नभएको बताए । राष्ट्रको जायज मागलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने बताउदै उनले नेतृत्वको आलोचना गरे । 

अखुन्दजादाकविरुद्धका यी दुईवटा कथनबाट तालिबान अहिले दुईवटा क्याम्पमा विभाजित भएको देखिन्छ । पहिलोको नेतृत्व मुल्ला हिबतुल्लाह र उनका अति-रुढिवादी कान्दाहार विचारधाराले गरेका छन्, जसको तालिबानका वित्तीय संस्थाहरूमा पूर्ण नियन्त्रण छ । अर्कोको नेतृत्व याकूब र हक्कानीले गरिरहेका छन्, जसले समूहको सैन्य र गुप्तचर उपकरण नियन्त्रण गर्छन् । २ मार्च २०२३ मा, हिबतुल्लाह अखुन्दजादाले व्यक्तिगत रूपमा मल्लाह याकुब र सिराजुद्दीन हक्कानीलाई उनीहरूको गुनासो सम्बोधन गर्न कान्दाहारमा बोलाए । तर सो भेटमा के भयो भन्ने बारे स्पष्ट भएको छैन । सर्वोच्च नेताले शरियाको प्रवद्र्धन र कार्यान्वयनका लागि मन्त्री र धर्मगुरुहरूलाई बैठकमा बोलाएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए ।

यस्तो अवस्थामा अमिर र हक्कानीबीचको लडाइमा कसले जित्छ र कसलाई हार्छ त्यो हेर्नु महत्वपूर्ण हुनेछ । तालिबान नेता अखुन्दजादाबाट निराश हुने हक्कानी मात्र होइनन् । ब्रुकिङ्स इन्स्टिच्युटका अनुसार हैबतुल्लाहले तालिबानका अन्य गुटहरू, विशेष गरी बढी व्यावहारिक, अन्तर्राष्ट्रिय रूपमा सक्रिय तालिबान नेताहरूका सुझावहरूलाई बारम्बार अस्वीकार गरेका छन् । हैबतुल्लाहलाई उनको धार्मिक योग्यता र निर्णय गर्ने क्षमताको लागि २०१६ मा तालिबान शुराले छानेको थियो । तर,उनी देशको शासन व्यवस्थाको हिस्सा भने बनेका छैनन् ।

(एजेन्सीहरुको सहयोगमा)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै