• २०८१ बैशाख १६ आइतबार

अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी- ईश्वर पोखरेल

kharibot

काठमाडौँ । नेकपा (एमाले)का पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवस  मनाइएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपामा गरेको स्मृति दिवसमा अधिकारीप्रति एमालेका शीर्ष नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको सालिकमा माल्यार्पण गरे । सभामा एमालेका वरिष्ठ उपाध्यक्ष तथा  प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी रहेको बताए । उनले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने सपनाको जागरणका पक्षमा उभिनु नै अधिकारीप्रति सच्चा सम्मान हुने विचार व्यक्त गरे ।

“अधिकारीका विचार, काम, आदर्श सधै जीवित छन् । ती कुराबाट अभिप्रेरित हुँदै सधैँ हामी अगाडि बढिरहनुपर्दछ”, उनले भने । उनले अधिकारीका नाममा स्थापना गरिएका प्रतिष्ठान र संस्थालाई व्यवस्थितसमेत बनाउने बताए । अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । 

अधिकारी २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयघात भएर उपचारका क्रममा निधन भएको थियो । विसं २०४७ मा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को उनि अध्यक्ष बनेका थिए । मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दलको हैसियतले एमालेका तर्फबाट उहाँ प्रधानमन्त्री बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै