• २०८१ जेठ ६ आइतबार

चिया निर्यातबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्छ- मन्त्री भुसाल

kharibot

काठमाडौँ ।  नेपाली अर्थोडक्स चियामा आजदेखि ‘ट्रेसाविलिटी प्रणाली’ लागू गरिएको छ । उक्त प्रणाली प्रारम्भ भएपछि चिया उत्पादक कम्पनीको उत्पादन बिक्री वितरण गर्दा सूचना अनिवार्य बारकोडमा राख्नुपर्ने व्यवस्था गरिएको छ । उपभोक्ताले चियाबारे आवश्यक सूचना बारकोडबाट प्राप्त गर्ने हुँदा गुणस्तर, तौलमा ठगी हुन पाउँदैन ।

यहाँ आज आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो प्रणालीको शुभारम्भ गर्नुभयो । सो अवसरमा मन्त्री भुसालले गत वर्ष नेपालले करिब १३ हजार मेट्रिक टन चिया भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेको जानकारी दिँदै चियाको उत्पादनमा वृद्धि तथा निर्यात प्रवद्र्धन गर्न सकेमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा बलियो योगदान गर्न सक्ने बताए । 

मन्त्री रिजालले नेपालमा करिब २० हजार हेक्टरमा अहिले चिया रोपन तथा करिब २६ हजार मेट्रिक टन चिया उत्पादन हुने गरेकामा खुसी व्यक्त गर्दै अन्तर्राष्ट्रिय बजारमा हुने चिया निर्यातले बढ्दो व्यापारघाटा न्यूनीकरण गरी कृषकको आर्थिक रुपान्तरण हुने विचार व्यक्त गरे । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७औँ ‘राष्ट्रिय चिया दिवस’ का सन्दर्भमा आजदेखि तीन दिनसम्म चिया प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमअन्तर्गत आज चिया कृषक पाण्डव तिमिल्सिना, उषा सुब्बा र दिलकुमार राईलाई चिया उद्यमी पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई रु एक लाख ५० हजार राशिसहित पुरस्कार वितरण गरिएको हो ।

दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसाय, विक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तिको सहभागितामा आज नेपाल पर्यटन बोर्डमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवसमेत गरिएको छ । महोत्सवमा विभिन्न प्रकारका चिया प्रदर्शनी गरियो । दिवसका सन्दर्भमा इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारीबीच शिष्टाचार व्यापारिक बैठक गराइने कार्यक्रम छ ।

यस वर्ष ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नारासाथ दिवस मनाउन लागिएको छ । विसं १९२० मा इलाममा चियाखेती सुरु भएपनि झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई विसं २०३९ मा चिया क्षेत्रका रूपमा घोषणा गरी सरकारी तहबाट व्यावसायिक चियाखेतीको प्रवद्र्धन गरिएको पाइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै