• २०८१ बैशाख २७ बिहीबार

कपन विस्फोटनमा परेका घरधनी न्याय माग्दै अदालतको शरणमा

kharibot

काठमाडौँ । भाडावालले अनधिकृत रुपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिण्डरको भयानक विस्फोटनबाट पूर्ण रुपमा क्षति भएको काठमाण्डौ कपनस्थित घरका घरधनी क्षतिपूर्तिको माग गर्दै अदालतमा पुगेका छन् ।

काठमाडौँ कपनस्थित राममन्दिर लसुनटारमा रहेको आफ्नो घर भाडावाला इलाइट हिमालयन एडभेन्चरले अनधिकृत भण्डारण गरेको अक्सिजन ग्यास सिलिण्डर विस्फोटनबाट भएको क्षतिको दावी गर्दै हालै काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन ।

साविक कपन गा.वि.स.वडा नं. ५ को हाल बुढानिलकण्ड नगरपालिका वडा नं. ११ को कित्ता नम्बर १४५ को एक रोपनी जग्गामा बनेको भव्य साढेदुई तल्ले आरसीसी पक्की घर भाडावाला इलाइट हिमालयन एडभेन्चर प्रा.लि ले अनधिकृत भण्डारण गरेको  ग्यास सिलिण्डर २०७९ असोज ५ मा विस्फोट हुंदा घर पूर्ण रुपमा ध्वस्त भएको थियो । सिलिण्डर ग्यासको विस्फोटनबाट भएको क्षतिको हिसाबले उक्त विस्फोटनलाई अहिलेसम्मकै सबैभन्दा भयावह विस्फोट मानिएको छ ।

नगरपालिकाले गरेको इन्जिनियरिङ अध्ययनपछि पूर्ण रुपमा घर ध्वस्त भएकाले घर रेक्ट्रोफिटिङबाट समेत प्रयोगमा आउन नसक्ने निष्कर्ष निकाली भग्नावशेष हटाएर नयां घर बनाउनुपर्ने सिफारिस भएपछि घरधनीहरु भाडावाला कम्पनी र तिनका संचालकसंग क्षतिपूर्ति दावी गर्दै अदालतमा पुगेका हुन । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृहमन्त्रालय, बुढालिनकण्ठ नगरपालिका लगायत सबैजसो निकायमा धाउंदा समेत भाडावाला कम्पनीले मौखिक र लिखत रुपमा क्षतिपूर्ति ब्यहोर्न कबुल गरेतापनि घट्ना भएको छ महिना वितिसक्दा समेत आफूहरुलाई क्षतिको रकम नदिएको भन्दै घरधनी टंक घिसिङ र उनकी श्रीमति दालमु कित्तर घिसिङले दुष्कृतिले भएको क्षतिको रकम माग गर्दै मुद्दा दायर गरेको उनीहरुका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गृहमन्त्रालयलाई आवश्यक अनुसन्धान गरी उचित क्षतिपूर्तिको लागि पहल गरिदिन सिफारिस गरेतापनि मौखिक र लिखत प्रतिबद्धताका बाबजुद पिडित घरधनीले भाडावाला कम्पनीबाट क्षतिको रकम नपाएपछि आफ्नो पक्ष मुद्दामा गएको अधिवक्ता लुईंटेलको दावी छ । मुद्दा परेपछि काठमाण्डौं जिल्ला अदाललते कम्पनीको शेयर कारोबार, संचालकको नाममा रहेको जग्गा र कम्पनीको बैंक खाता रोक्का गरिसकेको छ ।

२०७७ मंसिर १ गते १० बुंदे करार संझौता गरी घर भाडामा लिई पर्यटन व्यवसाय चलाई आएको प्रा.लि.ले मासिक तीस हजार भाडा तिर्ने र कुनै क्षति भए सो को क्षतिपूर्ति समेत आफैंले ब्यहोर्ने तथा घर दुरुस्त अवस्थामा राख्नुपर्ने दायित्व सहित करार गरी घिसिङको घर भाडामा लिएको थियो । पर्यटन व्यवसायमा संलग्न कम्पनी र त्यसका संचालकले भाडामा लिएको घरमा अनधिकृत रुपमा ग्यास सिलिण्डर भण्डारण गरीआएका कारण घरमा विस्फोट भएको थियो ।

विभत्स घट्नाको कुनै छानविन र कानुनी कारबाही नभएपछि घिसिङ परिवार क्षतिकोे रकम दावी गर्न बाध्य भएको पनि लुईंटेलले बताए । बुढानिलकण्ठ नगरपालिका ११ नंं. वडा कार्यालयले वडा अध्यक्ष राजु अधिकारीको संयोजकत्वमा एउटा क्षतिपूर्ति समिति गठन गरी क्षतिपूर्ति दिलाउन पटकपटक छलफल गराउंदा समेत क्षतिपूर्ति दिने दिलाउने विषयमा सहमति हुन नसकेको र विपक्षी इलाइट हिमालयन एभभेन्चर्स प्रा.लि. तथा सो का संचालकहरुले क्षतिपूर्तिको रकम दिनेतर्फ कुनै चासो नदेखाएपछि पिडित घरधनीले मुद्दा दर्ता गरएका हुन ।

कम्पनीले घरधनीको अनुमति नलिई एलपी ग्यास र अक्सिजन सिलिण्डर गैर कानुनी रुपमा भण्डारण गर्दा भएको असोज ५ गतेको भयानक विष्फोटमा कम्पनीमा कार्यरत तीनजना कामदार कर्मचारीहरुको समेत मृत्यु भएको थियो भने घर र घरमा रहेका सामानहरु आगजनीमा ध्वस्त भएका थिए ।

घरभित्र रहेको धनमाल, नगद, सुनचांदी, लत्ताकपडा, फर्निचर र मोटरसाइकल, पूर्ण रुपमा क्षति हुंदा आफ्नो तीन करोड पचपन्न लाखको क्षति भएको दावी घरधनीले कम्पनीसंग गर्दै आएका छन् । भयानक विस्फोटनले धरैको ध्यान खिंचेको थियो । प्रहरी, सुरक्षाकर्मी, स्थानीय व्यक्तिहरु लगायतको उद्धार सहयोगका बाबजुद आगो नियन्त्रणमा आउन लामो समय लागेकोले आगोले घर र घरभित्रका सामानको पूर्ण क्षति भएको थियो । क्षतिको विवरण समेत अध्ययन गरी रकम यकिन भएको हो । विस्फोटनले घर ध्वस्त भएतापनि सरकारले दोषीमाथि कारबाही गरी घरधनीको क्षति ब्यहोर्नेतर्फ कुनै पहल नगरेपछि पिडित परिवार अदालतलाई गुहार्नपुगेको पनि अधिवक्ता लुईंटेलको जिकिर छ ।

मुलुकी देवानी संहिता २०७४ को दफा ६७८ मा कुनै कारणबाट कसैलाई हानी नोक्सानी भएमा सम्बन्धित सम्पत्ति धनीले दायित्व ब्यहोर्नेछ व्यवस्था छ । क) कुनै मेसिन, उपकरण वा यन्त्रलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढंगबाट सुरक्षाका उपायहरु नअपनाएको कारणबाट त्यसमा आगलागी भएमा वा सो विष्फोटन भएमा, ख) कुनै प्रज्वलनशील वा विस्फोटक पदार्थलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढंगबाट सुरक्षाका उपायहरु नअपनाएको कारणबाट त्यसमा आगलागी भएमा वा विस्फोटन भएमा त्यस्तो सम्पत्ति धनीले विस्फोटको दायित्व ब्यहोर्नुपर्छ भनिएको छ ।

सर्वाेच्च अदालतबाट दुष्कृतिको विषयमा प्रतिपादन भएको डा बुद्ध बस्न्यात विरुद्ध उपभोक्ता हित संरक्षण मञ्च समेतको रिट (निर्णय नम्बर १०६२१) र नेसार अहमद मिया विरुद्ध पृथ्वी चन्द्र अस्पताल रामग्राम नवलपरासी (नि नं. १००६१)  को मुद्दामा प्रतिपादन भएको सिद्धान्त समेतका आधामा जसको हेलचेक्रयाईको कारणबाट दुष्कृति भएको छ, उसले क्षति ब्यहोर्नुपर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै