• २०८१ जेठ ५ शनिबार

स्वर्गीय डा लोहनीको पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’ लोकार्पण

kharibot

काठमाडौँ । डा सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा स्वर्गीय न्यूरोसर्जन डा लोहनीद्वारा लिखित पुस्तक आमा सुभद्रा लोहनी र बुबा घनराज लोहनीले लोकार्पण गर्नुभयो ।

लोकार्पण गर्दै बुबा घनराज लोहनीले भने, “२०७८ सालको बडादसैँको अवसरमा उनले यो पुस्तक आफँैले प्रकाशन गरी हामीलाई उपहार दिने योजना थियो । उनी रहेनन्, हामीले आज प्रकाशन गरेर लोकर्पण गरेका छौँ ।”

उनले दुई पुस्तक सोमहोम र जीवन वृक्षबारे प्रकाश पार्दै भने, “सोमहोममा आध्यात्मिक पक्षको सटिक विश्लेषण गरिएको छ । जीवन वृक्षमा योगसाधना, चेतना र मानव अस्तित्व एवम् विश्व बन्धुत्वको भावना सचित्र वर्णन गरिएको छ ।” 

उनका अनुसार लेखकले पुस्तकमा धार्मिक अतिक्रमणको खरो आलोचना गरे । “धार्मिक अतिक्रमणलाई निस्तेज नगरे हाम्रो अस्तित्वमा रहँदैनौँ, भन्ने उनको चिन्ताको विषय थियो । त्यही सेरोफेरोमा उनले यी दुई पुस्तक लेखेका थिए”, उनले भने । 

लोकार्पण कार्यक्रममा पुस्तकबारे डा हरिप्रसाद पोखरेलले आध्यात्मिक र आधुनिक विज्ञानबीचको सेतु बन्न डा लोहनीको पुस्तकले सृजनात्मक भूमिका खेल्ने बताए । उनले भने, “डा लोहनीले आध्यात्मलाई पृथक शैलीमा विश्लेषण गर्न खोज्नुभएको छ । उहाँका विचारलाई हामीले उत्खनन गर्न आवश्यक छ । ”

डा जगमान गुरुङले शुभकामना सन्देशमा जीवन वृक्ष पुस्तक दर्शन र कलाको अनुपम संयोजन भएको बताएका छन् । कार्यक्रममा डा सुवासका सहपाठी, शिक्षक, सहकर्मी, सुभचिन्तक र परिवारले पुस्तकबारे समीक्षा र टिप्पणी गरेका थिए । 

बुवा घनराज लोहनीले पुस्तकबाट आर्जित रकम डा सुवास लोहनीको स्मृतिमा ललितपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘चम्कीला तारा’ नामक पुरस्कारको रुपमा प्रदान गरिने बताए । डा लोहनीको स्मृतिमा उहाँको कृतिको प्रचारप्रसारसँगै अनाथलयमा आर्थिक सहयोग गर्ने लोहनी परिवारको भनाइ छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै