प्रधानमन्त्री प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने !
खरीबोट
२०८० बैशाख २२ शुक्रबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने भएको छ ।
शुक्रबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै संबैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो ।
गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि दुई पटक संसदबाट विश्वासको मत लिइसकेका छन् ।
एमाले, रास्वपासहितका दलको समर्थनआमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ मा विश्वासको मत लिदा काँग्रेससहित २६८ सांसदले विश्वासको मत दिएका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले तत्कालिन गठबन्धन छोडेर नेपाली कांग्रेससहितका दलको गठबन्धन बनाएपछि चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए । यस पटक प्रचण्डलाई १७२ सांसदले विश्वासको मत दिएका थिए । दोस्रो पटक विश्वासको मत लिँदा प्रचण्डलाई एमाले, राप्रपा र नेमकिपाबाहेकका दलले विश्वासको मत दिए ।
के छ संबिधानमा व्यवस्था ?
नेपालको संविधानको धारा १०० को उपधारा २ ले सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
१०० को उपधारा २ मा उल्लेख छ- 'प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।'