• २०८१ बैशाख १६ आइतबार

‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

kharibot

टीकापुर । कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् ।

टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छिन् । पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थालेकी छिन् ।  

“मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु”, उनले भनिन्, “मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु । मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर सिक्छु ।”

सिलाइबुनाइमा इच्छाशक्ति भएकी पुष्पा टीकापुर अस्पतालमा कार्यरत छन् । साँझ बिहानको समयमा सामान उत्पादन गर्ने पुष्पाको व्यवसाय पनि राम्रै चलिरहेको उनको भनाइ छ । “बिक्री पनि फेसबुक र टिकटकबाट भइरहेको छ”, उनले भनिन्, “मैले बनेका सामान फेसबुक तथा टिकटकमा राख्छु, भिडियो पनि हाल्छु, अनि माग आउँछ ।”

पुष्पाले बनाएका सामान कैलाली मात्र नभई अन्य जिल्ला र विदेश बस्ने नेपालीले माग गर्ने भएकाले विदेशमा समेत पठाउने गरेका छन् । मानिसले बढी खर्च गर्ने भनेकै लाउन र खानमा हो । 

नयाँ डिजाइनका पहिरन लगाउन, मीठो खान सबैलाई मनपर्छ । मानिस खानाका विभिन्न परिकार खान्छन्, लगाउने लुगाकपडा तथा गहना, चुरापोतेजस्ता सामान पनि नयाँ फेसनका मन पराउँछन् । पछिल्लो समय महिला सामाजिक सञ्जालको प्रयोग गरेर नयाँ–नयाँ सीप सिक्न थालेका छन् । 

विगतका मानिसले विभिन्न सीप सिक्न निश्चित तोकेको ठाउँमा जानुपथ्र्यो । तोकिएको ठाउँमा गएर, शुल्क तिरेर सीप सिक्नुपर्ने बाध्यता थियो । तर पछिल्लो समय परिस्थिति बदलिएको छ । 

इच्छा भएकाहरू सामाजिक सञ्जाल तथा युट्युबको सहायताले सीप सिकिरकेही छिन् । टीकापुरकै कृष्णा भण्डारीले केही वर्षअघि केही गरौँ भनी धनगढीमा गएर १० दिन पोते बुन्ने तालिम लिइन् ।  

“तालिमपछि मैले पोते बुनेर यहाँकै पसलमा बिक्री गर्न थालेँ, खपत राम्रै हुन थाल्यो”, कृष्णाले भनिन्, “केही वर्षअघि सिकेको फेसन आजभोलि चल्दैन, त्यसैले नयाँ डिजाइनका पोते बुन्नुपरेमा टिकटक र युट्युब हेर्ने गरेकी छु ।”

कृष्णाले पनि चुरापोते, बरमालाका सबै सामान आफँैले उत्पादन गरेर बिक्री गर्ने गरेकी छिन् । पेसाले शिक्षक रहेकी उनले घरमै पसल सञ्चालन गरेकी छिन् । उनले आफूले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने, विभिन्न पालिकामा प्रशिक्षण दिने गरेकी छिन् । 

“विद्यालयबाहेकको समय सीप विकासमा खर्च गर्छु । सयौँ महिलालाई चुरापोते, बरमाला र स्वीटर बुन्न सिकाएकी छु”, उनले भनिन्, “अरुले उत्पादन गरेको सामान आफूले किनिदिनेसमेत गरेकी छु ।”

सामाजिक सञ्जालको प्रयोगका फाइदा–बेफाइदा दुवै छन् । सामाजिक सञ्जाल चलाउँदा नकारात्मक सामग्री हेर्ने गरियो भने मानिसलाई घाटा हुन्छ । चाहिने ज्ञान, सीपमूलक भिडियो हेरियो, त्यसलाई व्यवहारमा उतार्न सकियो भने फाइदा पाएकाहरू पनि धेरै छन् । 

टीकापुरकी अर्की व्यापारी ममता न्यौपानेले पनि बुनाइका धेरै डिजाइन युट्युब तथा टिकटकबाट सिक्ने गरेकी छिन् । फेन्सी कपडा पसल सञ्चालन गरेकी ममताले पोते, माला र स्वीटर बुन्ने र बिक्री गर्ने गर्छिन । 

“मैले पनि नयाँ पहिरन र फेसनका स्वीटर तथा माला युट्युब र टिकटकबाट सिक्ने गरेकी छु”, उनी भन्छिन्, “यो मोबाइल त धेरै उपयोगी रहेछ । यसमा नभएको केही रहेनछ । यसलाई चलाउन जानेमा धेरै कुरा सिक्न पाइने रहेछ ।”

लामो समयदेखि सिलाइकटाइ व्यवसाय गरिरहेकी टेलर व्यवसायी इन्द्रा चौधरीले पनि सामाजिक सञ्जालको भरपुर सदुपयोग गरेकी छिन् । उनले नयाँ फेसनका लुगा सिलाउनुपर्दा मोबाइलको सहायतामा युट्युबबाट हेरेर सिक्ने गरेका छन् । 

“सुरुमा ससुराले सिलाइ पसल सञ्चालन गर्नुभएकाले मैले उहाँबाटै सीप सिकेकी हुँ”, उनले भनिन्, “आजभोलि नयाँ फेसनका लुगा सिलाउनुपर्छ । नयाँ डिजाइनका लुगा छिट्टै फैलन्छन्”, इन्द्राले भनिन्, “ग्राहकले जस्तो फेसन चाहियो भन्छन्, उस्तै सिलाउन सक्छु । कसैलाई फिर्ता पठाएको छैन । मोबाइलमा हेर्छु अनि यस्तै बनाउन सक्छु ।”

हरेक प्रविधिका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । अधिकांश मानिस मोबाइल तथा इन्टरनेटमा भुल्दा काम नलाग्ने सामग्री हेरेर भुल्न हुँदैन । मोबाइलको गलत प्रयोग गर्दा दुःख पाएका, समय बर्बाद गरेका पनि धेरै छन् । कुनै पनि प्रविधि वा मोबाइल चलाउँदा आफूलाई चाहिने कुरामात्र हेर्नु आवश्यक छ । 

शिक्षक अमर चौधरी इन्टरनेटमा मानिसलाई आवश्यक कुरा हेर्ने र सिक्ने गरेमा जीवनलाई व्यवसायी बन्न सघाउने बताउँछन् । “मोबाइलको गलत लत लागेका पनि धेरै छन्, यी महिलाले जस्तै मोबाइलको सही प्रयोग गर्न आवश्यक हुन्छ”, उनले भनिन्, “सामाजिक सञ्जाल तथा प्रविधिको सही सदुपयोग गर्न आवश्यक छ । सही सदुपयोग गरेमा सामाजिक सञ्जालमा धेरै काम लाग्ने कुरा पनि हुन्छन् ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै