• २०८१ बैशाख १४ शुक्रबार

भूकम्पले मक्काएको रंगशाला पुनर्निर्माण : सिट क्षमता घट्ने

kharibot

काठमाडौं । ०७२ सालको भूकम्पले मक्काएको देशको एक मात्र अन्तर्राष्ट्रिय रंगशालाको पुनर्निर्माणपछि यसको सिट क्षमतामा ह्रास आउने भएको छ ।

भूकम्प गएको दुई वर्षपछि ०७४ असोजबाट मात्र सुरु भएको पुनर्निर्माणपछि सिट क्षमतामा करिब एक हजार सिटजति कम हुने रंगशालाका इन्जिनियर श्याम श्रेष्ठले खरीबोटलाई जानकारी दिएका हुन् । उनका अनुसार आगामी १० महिनाभित्र रंगशालाको पुनर्निर्माण सकिएर खेल्न योग्य हुनेछ । 

श्रेष्ठले २५ हजार सिट क्षमताको भनिए पनि अब बन्ने नयाँ प्याराफिटको सिट क्षमता करिब हजार सिटजति कम हुने बताए । यो उनले गरेको अनुमान हो । देशको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला भूकम्पसँगै लामो समयदेखि बन्द छ । न त्यहाँ कुनै खेल भएका छन्, न त खेलाडीले प्रवेश नै पाएका छन् । रंगशालाको मैदानको दूबो हरियो भएको छ  ।

वैशाखको महिनामा पनि वर्षातको दूबोझैँ हरियाली छ मैदान । तर, विडम्बना वरपर ठिङ्ग परेका रुखा प्याराफिट छन् । सिट उप्काइएका छन् । 

६ महिनामा प्याराफिट


भूकम्पले क्षतिग्रस्त भएको तीन वर्ष हुनलाग्दा यसको बिग्रेको संरचना भत्काउने काम बल्ल सुरु भएको छ भने पुनर्निर्माणका लागि क्षतिग्रस्त भागलाई भत्काउने काम चलिरहेको छ । गत वर्षको असोजबाट पुनर्निर्माणको टेन्डर पीएस प्रतिष्ठा किराँतेश्वर जेभी निर्माण कम्पनीले पाएको छ । अहिले रंगशाला भत्काउने काम भइरहेको रंगशालाका इन्जिनियर श्रेष्ठले बताए ।

उनले भने, ‘अबको ६ महिनामा रंगशालाको जनरल प्याराफिट निर्माण र रेक्टोफिटिङको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’ उनले माघ महिनाभित्र भित्री रंगशालाको काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । 

के-के गरियो अहिलेसम्म ? 
पुरानो सचिवालय भत्काउने काम बल्ल सकिएर त्यसको निर्माणको काम सुरु भएको श्रेष्ठले बताए । त्यसैगरी, जनरल प्याराफिट अर्थात् एरेना भत्काउने काम सम्पन्न भई निर्माणको काम सुरु भएको छ । भूकम्पले भीआईपी प्याराफिटमा असर गरे पनि जनरल प्याराफिट (सामान्य दर्शक बस्ने)मा असर गरेको छैन । भीआईपी प्याराफिटको ७५ प्रतिशत भत्कउने काम सकिएको उनले बताए ।

भीआईपीको छत कसले बनाउने ? 
भीआईपी प्याराफिट कसले बनाउने भन्ने अन्योल बाँकी नै छ । किनकि यसको छत बनाउनका लागि कुनै ठेक्का परेको छैन । १९औं सागका लागि तयार गर्न लागिएको रंगशालाको काम छत बनाउन लाग्दा समयमा नसकिने आशंकाले सुरुमै ठेक्का नगरिएको हुनसक्ने श्रेष्ठले बताए ।

हतारमा बनाउँदा कमशल बन्ने सम्भावनाबारे श्रेष्ठले भने, ‘हामीले छिटो बनाउने भन्दैमा त्यतिकै बनाउने होइन । हरेक कुराहरुको परीक्षण गर्छौँ, त्यसैले त्यो कमसल हँुदैन ।’ भीआईपीको छतमात्र हैन, सदस्य सचिवको सचिवालय र नयाँ बन्ने कभर्ड हलको समेत ठेक्का आह्वान हुनसकेको छैन । यसले निर्माणको गतिलाई कम गर्नसक्ने देखिएको छ । 

चीनले पुनर्मर्मत गरिदिने

२०३५ सालमा दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मपदण्डको बनाउने क्रममा चीन सरकारले निर्माणको जिम्मा लिएको थियो । सो समयमा चाइना सरकारले बनाएका संरचनालाई भूकम्पले क्षतिग्रस्त बनाएपछि नेपाल सरकारले चीन सरकारलाई पुनर्निर्माणका लागि भनेको थियो ।

सुरुमा आनाकानी गरे पनि अन्तमा पुनर्निर्माण गर्ने जिम्मा लियो । चीन सरकारले अहिले  सेन्थेटिक ट्रयाक, भ्लोर लाइट, डिजिटल स्क्रिन बोर्डलगायत बनाउने भएको छ । ती संरचनाहरुलाई चीन सरकारकै पहलमा भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने भएको हो ।

तीन चरणमा यसरी निर्माण गरिएको थियो रंगशाला
धेरैलाई अपत्यारिलो लाग्नसक्छ दशरथ रंगशालाको निर्माण २०१३ सालमा तत्कालीन राजा महेन्द्रको राज्यभिषेक अगाडि सुरु भएको थियो । २०१३ सालभन्दा अगाडि हाल रंगशाला परिषरमा रहेको कभर्ड हलको खाली मैदानमा सार्वजनिकरूपमा फुटबल खेलिन्थ्यो भने त्यसपछि २०२२ सालमा नेपाल र चीन सरकारबीच रंगशाला निर्माणका लागि पहिलोपल्ट सम्झौता भएको थियो । त्यसका लागि चीन सरकारले सिमेन्टी र छड उपलब्ध गराएको थियो । प्याराफिट निमार्णका लागि उत्तरतर्फको माटो समेत काट्ने काम भएको थियो । 

तर रंगशाला निमार्णका लागि आवश्यक रकम जुटाउन नसक्दा बीचैमा काम अडकिन पुग्यो । पछि फेरी राजा वीरेन्द्रको राज्यभिषेक २०३१ सालमा हुने निर्णय भएपछि रंगशाला निर्माणकार्यलाई पुनः सुरु गरियो। चीन सरकारसँग रंगशाला निर्माणका लागि पुनः सम्झौता भयो ।

छड र फलामका डन्डीहरू चीनबाट भारतको कोलकाता बन्दरगाहको बाटो हुँदै नेपाल भित्रिने तय भयो । त्यतिबेला सामानको फुवाडिङु रुक्लेरिङु एजेन्टको रूपमा ज्योती ब्रदर्शका ज्ञान ज्योतीलाई नियुक्त गरियो । लामो प्रयासपछि राजा वीरेन्द्रको राज्याभिषेकमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि रंगशालाको पूर्व र उत्तरतर्फ १४ १४ स्टेपको प्याराफिट तयार भयो ।

२०३४ सालमा शरदचन्द्र शाह राष्ट्रिय खेलकुद परिषद्को सदस्य—सचिव नियुक्त भएपछि रंगशालाको संरचनामा अझै सुधार आयो । रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन २०३५ सालदेखि निर्माण कार्य सुरु गरेर ०३७ सालमा पुरा गरियो । यतिबेला सरकारी रकम खर्च भएको थियो । त्यतिबेला सबै गरेर ३१ लाख रुपौया खर्च भएको थियो ।

तर पनि दशरथ रंगशालाको हालको स्वरूप भने २०५५ सालमा तयार भएको हो । नेपालले आठौ साफ आयोजना गर्ने निर्णय भएलगत्तै चीन सरकारले आधुनिक रंगशाला निमार्णका लागि पुनः सहयोग गर्यो । आठौ साफकै सन्दर्भमा रंगशालामा फर्ड लाईट र स्कोर बोर्ड थपियो ।

यस्तै दर्शकहरू सहजै मैदानमा छिर्न नपाऊन् भन्ने उद्देश्यले प्याराफिटको तलको तीन लेन फुटाइयो । प्याराफिट रेलिङले घेर्ने काम पनि भयो । पानीबाट प्रभाव नपर्ने वाटर प्रुफ पेन्ट पूरै रंगशालामा लगाउनेलगायत पहिलो पल्ट ८ लेनको सेन्थेटिक ट्रयाकको पनि पुनर्निर्माण सम्पन्न गरिएको थियो । ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै