• २०८३ भदौ ३ बुधबार

अमेजन नदीको मुहान नजिक तेल भेटिएपछि ब्राजिलमा उत्साह

अमेजन नदीको मुहान नजिक तेल भेटिएपछि ब्राजिलमा उत्साह

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेजन नदीको मुहान नजिक समुद्रमा तेल भेटिएको घटनालाई देशको भविष्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासले तेल भेटिएको घोषणा गरेपछि राष्ट्रपति लुलाले यसलाई ‘देशको भविष्यको पासपोर्ट’ बन्न सक्ने बताएका हुन् । अमेजन नदीको तटबाट करिब १७५ किलोमिटर टाढा समुद्रमा तेल भेटिएको हो । तर त्यहाँ कति परिमाणमा तेल छ भन्ने अझै स्पष्ट भइसकेको छैन । समुद्रको सतहबाट करिब २ हजार ८८६ मिटर गहिराइमा तेल भेटिएको हो । उक्त तेल व्यावसायिक रूपमा निकाल्न सम्भव हुन्छ कि हुँदैन भन्ने पनि अहिले नै निश्चित भएको छैन ।

तेल खोजीका लागि ब्राजिलको भूमध्यरेखीय क्षेत्र भनिने समुद्री क्षेत्रमा गरिएको गहिरो ड्रिलिङको वातावरणविद्हरूले लामो समयदेखि विरोध गर्दै आएका छन् । उक्त क्षेत्र जैविक विविधताका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । सम्भावित तेल चुहावटले समुद्री चट्टान तथा आसपासका तटीय क्षेत्रमा रहेका दलदल र वन्यजन्तुलाई गम्भीर असर पार्न सक्ने संरक्षणकर्मीहरूको चिन्ता छ । राष्ट्रपति लुलाले भने विदेशी हस्तक्षेप स्वीकार नगर्ने बताएका छन् । उनले गुणस्तरीय तेल रहेको कुनै पनि देशले आफ्नो प्राकृतिक स्रोतको विषयमा बाह्य हस्तक्षेप स्वीकार नगर्ने भन्दै यसलाई राष्ट्रिय सार्वभौमिकताको विषय बताएका छन् ।

पेट्रोब्रासले सन् २०२५ को अक्टोबरदेखि उक्त क्षेत्रमा गहिरो समुद्री तेल खोजी सुरु गरेको थियो । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत माग्दा चाम्ब्रियार्डले भूमध्यरेखीय क्षेत्रमा तेल भेटिने कम्पनीको विश्वास सही साबित भएको बताएकी छन् । उनले देशको ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् ।

राष्ट्रपति लुलाले भने तेलबाट प्राप्त हुने आम्दानीले ब्राजिललाई जीवाश्म इन्धनबाट अन्य ऊर्जातर्फको संक्रमणमा सहयोग पुग्ने तर्क गर्दै आएका छन् ।

उनले आफू जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने लक्ष्यबाट पछि नहटेको बताएका छन् । ब्राजिल जैविक इन्धनको विकासमा अग्रणी रहनुका साथै नवीकरणीय ऊर्जाको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेलिरहने उनको भनाइ छ । ब्राजिलमा गत नोभेम्बरमा आयोजित जलवायु सम्मेलनभन्दा केही साताअघि लुलाले पेट्रोब्रासलाई उक्त क्षेत्रमा तेल खोजी गर्न अनुमति दिएका थिए। त्यसबेला वातावरणविद्हरूले उनको निर्णयको कडा विरोध गरेका थिए ।

लुलाले त्यसबेला विशेषगरी युरोपेली देशहरूबाट भएको विरोधको स्मरण गर्दै राष्ट्रिय हित र सरकारी तेल कम्पनीको हितलाई ध्यानमा राखेर तेल खोजीको अनुमति दिएको बताएका छन् । समुद्रमा तेल भेटिएको खबरले नजिकैको ओयापोके नगरमा पनि आशा बढाएको छ । अमापा राज्यमा पर्ने उक्त क्षेत्रमा रोजगारी र नयाँ अवसरको आशामा मानिसहरूको आगमन बढेको स्थानीय आवास अधिकारीहरूले बताएका छन् ।

अक्टोबरमा हुने राष्ट्रपति निर्वाचनका लागि दुई महिनाभन्दा कम समय बाँकी रहँदा लुलामाथि आर्थिक विकासको अपेक्षा गरिरहेका मतदातालाई आकर्षित गर्ने र वातावरणीय जोखिमबारे चिन्तित मतदातालाई पनि आश्वस्त पार्ने चुनौती देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै