• २०८१ बैशाख १५ शनिबार

अन्नपूर्ण पदमार्गमा छ महिनामै भित्रिए २० हजार पर्यटक

kharibot

फाइल तस्बीर

पर्वत । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउन्ड अन्नपूर्ण क्षेत्रमा पछिल्लो साढे छ महिनामा झन्डै २० हजार पर्यटक भित्रिएका छन् । 

कोरोना सङ्क्रमणले दुई वर्ष नराम्ररी थलिएको यो पदमार्गमा सन् २०२३ को जुलाई १८ (साउन २ गते) सम्म १९ हजार पाँच सय ६२ पर्यटक पदयात्राका लागि आएका हुन् । 

सोमध्ये एक हजार चार सय २१ जना सार्क राष्ट्रका रहेका छन् भने अन्य पर्यटक जापान, चीन, युरोप, अमेरिका र कोरियका रहेका छन् । यो सङ्ख्या सन् २०२२ को तुलनामा झन्डै दोब्बर हो । 

सन् २०२२ को पहिलो छ महिनामा झन्डै ११ हजार जनाले पदयात्रा गरेका थिए । सन् २०२२ को वर्षमा कूल २४ हजार पाँच सय ४२ जना पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप विरेठाँटी चेकपोष्ट इञ्चार्ज याम गुरुङले जानकारी दिए । गुरुङले अगस्टपछि सुरु हुने अर्को याममा पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान रहेको बताए । यस वर्ष ४० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ । 

पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि सुरु हुने यो पदमार्ग विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्दछ । कोभिड सङ्क्रमणपछि यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या उल्लेख्यमात्रामा वृद्धि भएको गुरुङले बताए । “सन् २०२० र २०२१ मा नगण्यमात्रामा पर्यटक आए पनि सन् २०२२ को सेप्टेम्बरदेखि पर्यटक आवागमनमा सुधार हुँदै आएको थियो”, गुरुङले भने, “सन् २०२१ मा पर्यटकको सङ्ख्या ह्वात्तै बढेर आएको छ ।” उहाँका अनुसार अहिले भने ‘अफसिजन’ भएका कारण दैनिक १० देखि २० जनासम्म ‘इन्ट्री’ भइरहेका छन् । 

असार महिनाअघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान जस्तै बनेको उनले बताए । यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । 

विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, प्राकृतिक सुन्दरता हेर्न र कास्कीको नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुक–घोरेपानी–मस्ताङ, मुक्तिनाथबाट थोराङ भञ्ज्याङ उक्लेर मनाङ हुँदै लमजुङ जान अन्नपूर्ण राउन्ड पदमार्गमा आउँछन् । मुस्ताङ र मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । 

वीरेठाँटीमा दर्ता भएर पदयात्रा सुरु गर्ने सबै पर्यटक थोराङ भञ्ज्याङ पास भने गर्दैनन् । मुस्ताङको मुक्तिनाथभन्दा माथि पुग्दा लेक लाग्ने, बिरामी पर्ने जस्ता समस्याले अधिकांश पर्यटक अन्नपूर्ण बेसक्याम्पबाटै फर्किने गरेका छन् । यो क्षेत्रमा पर्यटकले सातदेखि नौ दिनसम्म बिताउने गरेको गुरुङले बताए । 

अहिले भने बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटीका इञ्चार्ज गुरुङले जानकारी दिए । यस क्षेत्रमा पर्यटकका लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना सबैभन्दा उत्तम मौसम मानिन्छ भने अन्य समयमा पनि विदेशी पर्यटकहरू आउने गर्दछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै