• २०८१ बैशाख २३ आइतबार

पर्यटकको आकर्षण बन्यो अन्नपूर्ण आधार शिविरको ‘पञ्चकुण्ड ताल

kharibot

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ पर्यटकको आकर्षण बनेको छ । समुद्री सतहदेखि ४१०० मिटर उचाईमा करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकहरुको मुख्य आकर्षण बन्ने गरेको छ । 

यस क्षेत्रमा पुग्ने पर्यटकहरु हिमालको फेदीको उपत्यकामा आकासे निलो रङ्गको पानिले भरिएको तालको अवलोकन गर्दा मोहित भएर फर्कने गरेका छन् ।  आधार शिविरबाट वरीपरि घेरिएको हिमाल, हिमालको फेदीमा रहेको विशाल ताल नै यहाँको प्रमुख आकर्षण बनेको छ  । ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामाकरण गरिएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताए । 

उनका अनुसार, सन १९५० तीर हिमाल आरोही लिएर आएका शेर्पाहरुले यस तालको नाम डिकिचो ताल भनेर नामाकरण गरेका थिए । हिमालको फेदिमा उच्च उँचाईमा रहेको कारण पानी जमिरहने भएकाले जम्ने तालको अर्थका रुपमा शेर्पाहरुले डिकिचो ताल नामाकरण गरेको भएपनि पछि स्थानीयबासीले तालको भू–वनोटका आधारमा पञ्चकुण्ड नामाकरण गरेका हुन् । 

नारच्याङदेखि ‘मौरिस हर्जोग पदमार्ग हुँदै एक देखि दुई दिनको यात्रामा पञ्चकुण्ड तालमा सजिलै पुग्न सकिन्छ । आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुका लागि कुण्ड नै पहिलो र प्रमुख आकर्षणको रुपमा रहेको छ । निलो रङ्गले भरिएजस्तै देखिने पञ्चकुण्ड ताल परिसरबाट अन्नपूर्ण हिमालका साथै फ्रेन्क, तिलिचो र निलगिरि हिमालको मनमोहक दृष्य फन्को मारेर अवलोकन गर्न सकिन्छ । वरीपरि हिमालले घेरिएको उपत्यकामा निलो तालको मनमोहक प्राकृतिक सौन्दर्य लोभलाग्दो देखिन्छ ।

सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । नारच्याङको हुमखोलासम्म सवारी साधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर एकैदिनमा आधार शिविर पुग्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै