• २०८१ बैशाख १५ शनिबार

महानगरले लिने कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि ३ दिन म्याद थप 

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ । 

शिक्षा विभागले सूचना जारी गर्दै आज (साउन १२ गते राती ११ः५९) सम्म दिइएको अवधि थप गरेको हो । यसपछि साउन १५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाइने भएको छ । 

कागजपत्र मिलाउन समय लागेको, प्रमाण पत्र प्राप्त नभएको जस्ता कारण आफूहरु आवेदन दिनबाट बञ्चित भएको विद्यार्थीहरुले गुनासो गरेपछि ३ दिन म्याद थपिएको शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । 

‘धेरै विद्यार्थीहरुलाई आवेदन दिने अवसर उपलब्ध गराउन म्याद थपिएको हो ।’ कोइरालाले भने, ‘आवेदन दिने समय थप भए पनि परीक्षाको मिति भने परिवर्तन गरिएको छैन ।’ 

करिब ४ हजार ३ सय विद्यार्थीलाई उपलब्ध हुने छात्रवृत्तिका लागि अहिलेसम्ममा ५ हजार ७२८ जनाको आवेदन प्राप्त भएको छ । जसमा सबैभन्दा धेरै विज्ञान विषयका लागि छन् । 

आवेदन दिन चाहने विद्यार्थीले  http://entrance.kathmandu.gov.np/ वेभ ठेगानामा गएर आवेदन दिन सक्नेछन् । 

छात्रवृत्तिका लागि विद्यार्थी छान्न परीक्षा लिइनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछन् । परीक्षा साउन २० गते विहान ११ बजेदेखि हुनेछ । 

आवेदक विद्यार्थीले सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्दछ ।

संस्थागत (निजी) विद्यालयबाट एसईई उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति पाउन शिफारिस गर्नुपर्छ ।

यी दुवै कागजपत्रका ढाँचा अनलाइनमा अनुसूची १ र २ गरेर राखिएका छन् । अनलाइनमा भरेका विवरण आफैँले हेर्न र सच्याउन मिल्ने गरी राखिएका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै