• २०८१ बैशाख २७ बिहीबार

बङ्गलादेशमा विपक्षी समूहको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्याँस र रबरको गोली प्रहार

kharibot

ढाका । बङ्गलादेशमा निष्पक्ष निर्वाचनका लागि प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका विपक्षी दलसम्वद्ध  प्रदर्शनकारी र प्रहरीबीच आइतबार पनि झडप भएको छ ।

राजधानी ढाकामा शनिबार विपक्षी प्रदर्शनकारीको जुलुसलाई तितर बितर पार्न प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गरेको हो । 

प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्दै गरिएको प्रदर्शनमा विपक्षी प्रदर्शनकारीहरुले राजधानीका मुख्य गन्त्व्यहरूमा यातायात अवरुद्ध गर्न बिहानै भेला भएका थिए ।

टेलिभिजन फुटेजमा प्रहरीले रबरको गोली र अश्रुग्याँस प्रहार गरी प्रदर्शनकारीलाई सडकबाट लखेटेको देखिएको छ । 

पूर्वप्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले सन् २०२४ को सुरुमा गैरदलीय अन्तरिम सरकारको नेतृत्वमा निर्वाचन हुनुपर्ने आफ्नो एक सूत्रीय मागलाई सम्बोधन गर्न स्थानीय समयअनुसार बिहान ११ बजेदेखि ढाका प्रवेश गर्ने सबै नाकामा धर्ना कार्यक्रम गर्ने घोषणा गरेको थियो । 

ढाका मेडिकल कलेज अस्पतालको प्रहरी चौकीका प्रमुख बच्चु मियाँले झडपपछि कम्तीमा छ जना प्रदर्शनकारीलाई अस्पताल लगिएको बताए । 

आइतबार पनि बिएनपीका दर्जनौँ नेता तथा कार्यकर्तालाई प्रहरीसँग झडप गरेको र सवारी साधनतोडफोड गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

यस अघि गत साता भएका विरोध प्रदर्शन र झडपका क्रममा कम्तीमा ५०० जनालाई पक्राउ गरिएको थियो ।

ढाका नगर प्रहर (डीएमपी) का प्रवक्ता फारुक हुसेनले पत्रकारहरूसँग बताएअनुसार बीएनपीका नेता कार्यकर्ताहरूले कम्तीमा ३० वटा गाडीहरू तोडफोड गरेका छन् भने यिमध्ये १० वटा प्रहरीले प्रयोग गर्ने सवारी साधन रहेका छन् । घटनामा कम्तीमा २० जना प्रहरी अधिकारी घाइते भएको डीएमपीका अधिकारीले बताएका छन् ।

तीन पटक प्रधानमन्त्री भइसकेकी जिया सन् २०१८ को फेब्रुअरीमा भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएदेखि नै जेलमा छन् । हसिनाको एएल सरकार यस वर्ष लगातार तेस्रो कार्यकालको अन्तिम वर्षमा प्रवेश गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै