• २०८१ बैशाख १६ आइतबार

कार्यसम्पादनको नतिजा नै पुरस्कृत वा कारबाहीको आधार- प्रधानमन्त्री प्रचण्ड 

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभागीय मन्त्रीसँग कार्यदसम्पादन सम्झौतामा हस्ताक्षरपछि मन्त्री र सचिवलाई संयुक्त सम्बोधन गर्दै उनले छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिए । 

विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादनअनुरूपको जिम्मेवारीमा ढिलाइ गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दैै प्रधानमन्त्री दाहालले जिम्मेवारी पूरा नगर्नेलाई कारबाही गरिने बताए ।

“कार्ययोजनामा उल्लेख भएअनुसार प्रगति हासिल गर्ने मन्त्री, सचिव, विभागीय तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने र लक्ष्यअनुसार प्रगति हासिल नगर्नेलाई सोहीअनुसार अभिलेख राखी जिम्मेवारी फेरबदल गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्नेछ”, उनले भने । 

प्रधानमन्त्री दाहालले मासिकरूपमा हासिल गरेको गुणात्मक प्रगतिसहितको मासिक रिपोर्ट कार्डका आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिने बताए । “म र मन्त्रीबीच वार्षिक लक्ष्य किटानीसहित कार्यसम्पादन सम्झौता भएको छ । मन्त्री र सचिव तथा विभागीयस्तरमा समेत कार्यसम्पादन सम्झौता भइसकेको छ”, उनले भने, “कार्यसम्पादनको नतिजा नै यहाँलाई चुनौतीपूर्ण र महत्वपूर्ण जिम्मेवारी दिने, जिम्मेवारीको निरन्तरता दिने, पुरस्कृत वा कारबाही गर्ने आधार हुने स्पष्ट पार्न चाहन्छु ।”

आयोजना कार्यान्वयनमा नेतृत्वको ठूलो भूमिका रहेको र कार्यान्वयनमा उत्पन्न हुने बाधा अड्चन फुकाउने र अन्तरनिकाय समन्वयको दायित्व पनि मूलतः नेतृत्वको नै भएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले मन्त्री, सचिव तथा विभागीय प्रमुख र आयोजना प्रमुखलाई आफू मातहतका आयोजना तोकिएको समयमै सम्पन्न गर्न र प्रभावकारी कार्यान्वयनमा नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देश गरे । 

उनले पूर्वतयारीबिनाका आयोजनामा रकम विनियोजन गरिहाल्ने, निर्णय प्रक्रियामा जोखिम लिन नचाहने र कानुनी झन्झट देखाउने, टेबुलटेबुलको शासन गर्न रमाउने तथा अन्तरसमन्वय गर्न नरुचाउने शासकीय प्रवृत्तिमा तत्काल सुधार गर्नसमेत निर्देशन दिए । 

“विकासलाई बाधा पु¥याउने तत्वको समयमै पहिचान गरी नीतिगत तथा संस्थागत सुधारका कार्यलाई अघि बढाउन र आयोजनामा सिर्जना हुनसक्ने समस्याको तत्कालै समाधान गर्नेगरी प्रभावकारी व्यवस्था मिलाउन आग्रह गर्दछु”, उनले भने ।

विकास निर्माणको काममा समयमै निर्णय नगर्ने र अन्तरनिकाय समन्वय गर्नुपर्ने विषयमा आवश्यक तदारुकता नलिने प्रवृत्ति नै अहिलेको मुख्य चुनौतीका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस प्रणालीलाई अन्त्य गर्नैपर्नेमा जोड दिए । 

प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले पनि हिचकिचाउन नहुनेमा जोड दिँदै उनले सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट र कर्मचारीको संरक्षण गर्न आफू सदैव प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले मुलुकको विकास तथा समृद्विको बाधक भ्रष्टाचार उन्मूलनका लागि सरकारले अझै सशक्त कदम चाल्ने बताए । उनले भने, “सुशासन, सामाजिक न्याय र समृद्विको यात्राका लागि शासकीय संयन्त्र चुस्तदुरूस्त हुनैपर्छ । सरकारका भ्रष्टाचार विरोधी अभियान र कदमबाट पछिल्लो समयमा राज्य दोहनकर्ता र तस्करहरू तर्सिएका छन्, अत्तालिएका छन् ।” 

आफ्नो नेतृत्वमा गठित सरकारले अर्थतन्त्रको पुनरुत्थान, सार्वजनिक सेवा प्रवाहमा सुधार, सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखी आफ्ना सम्पूर्ण शक्ति र सामथ्र्यलाई देश र जनताको हितमा परिचालन गर्न जोड दिँदै आएको उनको भनाइ छ । उनले यसबाट समाजका सबै क्षेत्रमा सकारात्मक भाष्य र सरकारप्रतिको भरोसा बढेर गएको बताए । 

सो अवसरमा प्रधानमन्त्री दाहाल र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको थियो । सरकारले लिएका निर्धारित उद्देश्य हासिल गर्न सबै निकायलाई जिम्मेवार बनाउने उद्देश्यले प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै