• २०८१ बैशाख २५ मंगलबार

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो

kharibot

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ ।

साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको छ ।

भाइरल ज्वरोको प्रकोप फैलिँदै जान थालेपछि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा समेत ज्वरोका बिरामी उपचारका लागि आउन थालेको त्यहाँका  चिकित्सकहरू बताउँछन् ।

जिल्ला अस्पतालका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार अहिले भाइरलबाट सङ्क्रमित बिरामीहरु दैनिक तीन दर्जनसम्मको सङ्ख्यामा उपचारका लागि जिल्ला अस्पतालमा आउने गरेका छन् ।

गाईघाट शिवशक्ति मेडिकलका सञ्चालक जीतेन्द्रकुमार महतोका अनुसार भाइरलबाट सङ्क्रमितहरु दैनिक दुई दर्जनसम्म आफ्नो क्लिनिकमा उपचारका लागि आउने गरेका छन् ।

एक हप्तादेखि यता भाइरल ज्वरोको प्रकोप फैलिँदै गएपछि अहिले नगरपालिकाको गाईघाट, बोक्से, जलजले, मोतिगडा, भुल्के, खैजनपुर, बगाहा, जोगिदह, पोर्ताह, लक्ष्मीपुर, राजाबास, चुहाडे क्षेत्रमा अहिले ज्वरोको प्रकोप तीव्र रुपमा फैलँदै गएको छ । उदयपुर जिल्ला अस्पतालका अनुसार डेङ्गु र आँखा पाक्ने रोगको प्रकोप पूर्णरुपमा न्यूनीकरण नभई फेरि भाइरल ज्वरोको प्रकोप बढ्न सुरु गरेको हो ।

अहिले नगरपालिका क्षेत्रको गाईघाट, बजार, बोक्से, पुरानो गाईघाट, असारी, खैजनपुर र मोतिगडा क्षेत्रका धेरै बासिन्दा भाइरलका कारण सङ्क्रमित भएका छन्  ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको नगरपालिका क्षेत्रमा साउन १ गतेदेखि डेङ्गुको प्रकोप फैलन सुरु गरेको थियो । हालसम्म  नगरपालिका क्षेत्रमा मात्र झन्डै चार सय ५० भन्दा बढी डेङ्गुबाट सङ्क्रमित भएका छन् ।

यस्तै नगरक्षेत्रका बालबालिकासहित अन्य उमेरकासमेत गरेर झन्डै तीन हजारको सङ्ख्यामा आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको बेला पुनः भाइरल ज्वरोको प्रकोपसमेत तीव्र रुपमा फैलँदै जान थालेको स्वास्थ्य कार्यालयले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै