• २०८१ बैशाख २१ शुक्रबार

विश्वकप टिमबाट जोफ्रा आर्चर बाहिर

kharibot

काठमाडौँ । इङल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप गुमाउने भएका छन् । इङल्याण्डका प्रमुख चयनकर्ता ल्यूक राइटले जोफ्रा आर्चर २०२३ को विश्वकप छनोटको लागि उपलब्ध नभएको जनाएका छन् ।

राइटले टिममा समावेश नभएपनि आर्चर भारतमा वैकल्पिक खेलाडीको रुपमा टिमसँग रहने जानकारी दिएका छन् । इङल्याण्डलाई २०१९ को एकदिवसीय विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका आर्चर लामो समयदेखि इन्जुरिका कारण नियमित क्रिकेटबाट बाहिर रहेका छन् । उनी करिब डेढ बर्ष मैदान बाहिर रहेर गत मार्चमा क्रिकेटमा फर्किएका थिए ।

२०१९ को विश्वकपको फाइनलमा न्यूजील्याण्डविरुद्धको सुपर ओभरमा इङल्याण्डले जित्दा आर्चर नायक बनेका थिए । उनले सो विश्वकपका ११ खेलमा २० विकेट लिएका थिए ।  

आर्चरको अनुपस्थितिमा इङल्याण्डले आफ्नो एकदिवसीय टिममा गस एटकिन्सनलाई टिममा पहिलो पटक समावेश गरेको छ । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका एटकिन्सनले विश्वकप अघि हुने न्यूजील्याण्डविरुद्धको चार खेलको एकदिवसीय सिरिजमा टिममा स्थान बनाएका छन् । 

आर्चरले इङल्याण्डका लागि अहिलेसम्म २१ एकदिवसीय खेल खेल्दै ३२ विकेट लिएका छन् । त्यस्तै १३ टेस्ट खेल्दै ४२ विकेट लिएका छन् भने १५ टी-२० खेलमा १८ विकेट लिएका छन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै