• २०८१ बैशाख २३ आइतबार

नेपालगञ्जमा १५ वर्षदेखि खानेपानी आयोजना अलपत्र

kharibot

नेपालगञ्ज । नेपालगञ्जमा १५ वर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन् ।

बजेट तथा जनशक्तिको अभाव, वैकल्पिक खानेपानीको व्यवस्थालगायत कारणले यहाँका खानेपानी आयोजना अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।

वैकल्पिक खानेपानीको उपलब्धता भएकाले उपभोक्ता सचेत नहुँदा जयसपुर, बनकटुवा, राधापुरलगायतका खानेपानी आयोजना अलपत्र परेका कार्यालयका प्रमुख तिलक न्यौपानेले बताए ।

“खानेपानीका सबै संरचना तयार छन्”, उनले भने, “पानी वितरणका लागि पाइप विछ्याउन सकिएको छैन ।”

प्रमुख न्यौपानेले गत आवमा जयसपुर खानेपानी आयोजनाअन्तर्गत करिब दुई किलोमिटर मात्रै पाइप विछ्याइएको जानकारी दिँदै पुरानो पाइप जीर्ण भएर पानी चुहावट हुन थालेपछि मर्मत गरी समस्या समाधान गरिएको बताए ।

उक्त खानेपानी आयोजनामार्फत नेपाल–भारत सीमा क्षेत्रसम्म पानी पुर्‍याउने योजना रहेको भन्दै उनले अहिलेसम्म ४६ खानेपानीका धारा जडान गरिएको जानकारी दिए । उनका अनुसार अझै १५ धारा जडानको माग भएको छ । 

आयोजनाका अध्यक्ष बाकरअलि राईले बाटो विस्तारका कारण विछ्याइएका पाइपलाईन जीर्ण भएकाले आयोजना सम्पन्न गर्न समस्या भइरहेको उल्लेख गर्दै अझै पनि एक सय किलोमिटर पाइप विछ्याउन बाँकी रहेको जानकारी दिए ।

उनले धारा जडान गरिएका कतिपय ठाउँमा नियमित तथा स्वच्छ खानेपानी नआएको गुनासो उपभोक्ताले गरेकाले जीर्ण पाइप पुनः मर्मत गरी पानी वितरण गर्नुपर्ने बताए । उनका अनुसार विसं २०६४ देखि सुरु भएको उक्त खानेपानी आयोजनाका लागि चालु आवमा रू २० लाख बजेट विनियोजन गरिएको छ । जिल्लाको बैजनाथ गाउँपालिकास्थित बनकटुवा खानेपानी आयोजना पनि अलपत्र परेको छ ।

पालिकाभित्र सडक विस्तारका क्रममा विछ्याइएका पाइप जीर्ण बनेपछि पुनः पाइप विछ्याउने योजना बनाइएको डिभिजन प्रमुख न्यौपाने बताए । “सडक विस्तारका क्रममा केही पाइप काटिएका थिए भने केही सडकबाट नै हटाइएको थियो”,उनले भने । उक्त आयोजनाका लागि रू ६० लाख बजेट विनियोजन भएको बताउँदै उहाँले अहिले ५० धारा जडान गरेर पानीको वितरण सुरु गरिएको जानकारी दिए ।

खजुरा गाउँपालिकास्थित राधापुर खानेपानी आयोजनाको काम पनि सडक विस्तारका क्रममा अलपत्र परेको छ । सडक विस्तार तथा विद्युत्को तार भूमिगत गर्ने क्रममा खानेपानीका लागि विछ्याइएका पाइप जीर्ण बनेपछि वडा कार्यालयको सहयोगमा पुनः पाइन विछ्याएर ५० धारा जडान गरिएको प्रमुख न्यौपाने जानकारी दिए । उनका अनुसार उक्त आयोजनाका लागि  ६० लाख बजेट विनियोजन भएको छ । 

त्यस्तै पुरानो नौवास्ता खानेपानी आयोजनाअन्तर्गत अहिले तीन सय ७५ धारा जडान गरी पानी वितरण गरिएको प्रमुख न्यौपानेले बताए । उक्त आयोजनाका लागि २० लाख बजेट विनियोजन भएको छ । यस आयोजनाले अन्यको तुलनामा गति लिएको उनको भनाइ थियो ।

नरैनापुरमा अझै सम्पन्न भएन खानेपानी आयोजना

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा खानेपानीको ओभरहेड ट्याङ्की बनेको लामो समयसम्म कुनै खानेपानी आयोजनामार्फत पानीको वितरण भएको छैन । ‘ह्याण्ड पाइप’को पानी खान बाध्य रहेको स्थानीय बताउँछन् । 

“सबै वडामा ओभरहेड ट्याङ्की छ तर खानेपानी आयोजना पूरा भएको छैन”, डिभिजन प्रमुख न्यौपानेले भने, “यस पालिकामा १२ खानेपानीका आयोजना छन् । बजेट अभावका कारण यहाँका आयोजना पूरा हुन सकेका छैनन् ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै