• २०८१ बैशाख १६ आइतबार

प्रदेश सभाको बैठक बोलाएर उपसभामुख काठमाडौँतर्फ, अप्ठ्यारोमा मुख्यमन्त्री

kharibot

उपसभामुख सिर्जना दनुवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाएर उपसभामुख सिर्जना दनुवार काठमाडौं हिडेकी छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएकी उपसभामुख दनुवार काठमाडौंतर्फ हिडेकी हुन् । उपसभामुख दुनुवार बिहान ८ बजे यति एयरलाइन्सबाट काठमाडौंतर्फ लागेकी हुन् ।

उपसभामुख दनुवार काठमाडौँ हिडेपछि अब कोशी प्रदेश सभाको अध्यक्षता कसले गर्ने भन्ने बारे अन्योलता देखिएको छ ।

यस अघि सभामुख रहेका बाबुराम गौतमलाई राजीनामा गराएर उद्धव थापा मुख्यमन्त्री बनेका थिए ।

सभामुख र उपसभामुख दुबै नहुँदा प्रदेशसभा ज्येष्ठ सदस्यले संसद संचालन गर्ने प्रावधान छ तर एमाले र राप्रपाका ज्येष्ठ सांसदहरु बैठक संचालन गर्न तयार नभएपछि सत्ता पक्ष अप्ठ्यारोमा परेको छ ।

 एमाले र राप्रपाका जेष्ठ सदस्यहरुले आइतबारै सचिवालयमा बिदा मागेको निवेदन दिएका छन् ।

एमाले जेष्ठ सांसदहरूमा रोहिदबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदीले बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिइसकेका छन् ।

सत्ता पक्षका सांसदले बैठक संचालन गरेमा मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने छैनन् । यस अवस्थामा प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

कोशी प्रदेशमा बहुमतका लागि ४७ सदस्य आवश्यक रहेको छ । ९३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक गरी सत्तापक्षसँग ४७ जना प्रदेश सभा सदस्य छन् । विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका छ गरी ४६ जना प्रदेश सभा सदस्य छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै