• २०८१ बैशाख १६ आइतबार

बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

kharibot

बैतडी । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो ।

गत आर्थिक वर्ष २०७९-८० मा छ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसमा तीन हजार तीन सय ९६ पुरुष र दुई हजार नौ सय ४२ महिलाले नागरिकता बनाएका हुन् ।  जसमध्ये १२ जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । 

आर्थिक वर्ष २०७८-७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए । यो एक वर्षको अवधिमा चार हजार दुई सय ५७ पुरुष र चार हजार दुई सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले  वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् । यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् ।

आव २०७७-७८ मा पाँच हजार पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए । 

यसैबीच यहाँबाट राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनालाई राहदानी वितरण गरिएको छ । जसमा दुई हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला रहेका छन् ।  यो वर्ष द्रुत सेवाका लागि एक जनाको पनि सिफारिस गरिएको छैन ।

यस्तै आव २०७८/७९ मा छ सय २२ जनालाई राहदानी वितरण गरिएको छ । यसमा पाँच सय ३५ पुरुष र ६४ महिलाले राहदानी बनाएका हुन् । यसका साथै द्रुत सेवाका लागि आठ सय छ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ । आव २०७७÷७८ मा यहाँका तीन सय ९२ जनालाई राहदानी वितरण गरिएकामा चार सय ३१जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै