• २०८१ बैशाख २३ आइतबार

तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित हुने

kharibot

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् ।

मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए । उनले ती  आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको उनले जानकारी दिए । 

नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको कुल लागत रु १६ करोड ६६ लाख ७३ हजार आठ सय १४ छ ।

निर्माणको जिम्मा सिएवी, जिआरडी जेभी काठमाडौँले पाएको छ । स्थानीय उपभोक्ताले जनश्रमदानबापतको रकम  दुई करोड आठ लाख ३४ हजार दुई सय २६ बेहोर्ने सर्तमा विसंं २०७८ असार २९ गते सम्झौता भएको थियो । आयोजनाको विसं २०८० पुस २९ सम्म निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।

अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुई वटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीमा जम्मा गरी सप्लाई गरिने बताए । उनका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्याङ्की छ ।

जसबाट एक हजार बढी घर परिवार लाभाविन्त हुनेछन् । मेचीनगर-२ का बासिन्दा वर्षौ देखि इनार, कलको पानी उपभोग गर्दै आएका थिए ।

वर्षौंदेखिको खानेपानीको समस्याबाट वडा नं २ को तल्लो क्षेत्र लाभान्वित बन्न लागेको वडाध्यक्ष दीपक बरालले बताए ।

“शुद्ध, सफा खानेपानीको पहुँचमा बल्ल पुगियो”,उनले भने, “माथिल्लो बेल्ट अझै काकाकुल अवस्थामै छ । यसले थोरै भए पनि राहत पुग्यो ।” 

निर्माण व्यवसायी देवेन्द्रप्रसाद चौगालाईंले करिब ९५ प्रतिशत निर्माण पूरा गरेको दाबी गरे । उनका अनुसार एक सय ५० मिटर गहिराइबाट पानी निकालिएको छ । उनले तोकिएकै समय अगाडि नै आयोजना सम्पन्न गरी हस्तान्तरण गरिने बताए ।

उनले हाल ओभरहेड ट्याङ्की, डीप बोरिङलगायतका सबै निर्माण सकिएको र केही स्थानमा पाइपलाइन विस्तार मात्रैबाँकी रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै