• २०८१ बैशाख १५ शनिबार

अर्थमन्त्रालयले सहमति नदिँदा भेरी करिडोरको तल्लु –दुनै सडक अलपत्र

kharibot

जाजरकोट । भेरी करिडोर अन्तरर्गत जाजरकोटको तल्लु देखि डोल्पाको सदरमुकाम दुनै सम्म अस्थायी ट्याक ओपन भएको सडकमा पिचको काम रोकिएको छ । भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा ६२ किलोमिटर सडकमा पिच गर्नका लागि स्रोत सुनिश्चित गर्न माग गरिएको भएपनि अर्थले सहमति नदिदा काम रोकिएको छ । 

अघिल्लो वर्ष नै माग गरिएको भएपनि अर्थ मन्त्रालयले सहमति नदिदा रोकिएकोमा फेरी यो चालू आर्थिक वर्षमा पनि दोस्रो पटक पिच गर्नका लागि रकम माग गरिएको भएपनि हाल सम्म अर्थ मन्त्रालयले सहमति दिएको छैन । ११८ किलोमिटर सडक मध्य ५६ किलोमिटरमा ठेक्का भइ पिचको काम जारी रहेको छ । जाजरकोटको पासागाड देखि तल्लु सम्म पिचको काम यति बिल्ड्रस प्रालिले गरिरहेको छ । बाँकी ६२ किलोमिटर सडकमा पिच गर्नका लागि अर्थ मन्त्रालयले सहमति नदिदा काम रोकिएको हो । 

भेरी करिडोर सडक आयोजना मार्फत यो काम भइरहेको छ । चालु आर्थिक वर्षमा माग गरि फेरी पठाएकाले सहमति पाइन्छ कि भन्ने हो आयोजनाका प्रमुख सुजन अधिकारी भने । यदि पाइहाले पनि चालु आर्थिक वर्षमा बिनियोजन गरिएको बजेट भन्दा चार गुणा बढी मात्र बजेट पाउने सम्भावना छ उनले भने । चालु आबमा सरकारले भेरी करिडोरका लागि भन्दै ५० करोड बिनियोजन गरेको थियो । यो बजेट अहिले चालु अवस्थामा रहेको जाजरकोट खलंगाको पासागाड देखि तल्लु भइरहेको कामलाई भुक्तानी दिन समेत अपुग रकम रहेको छ । तल्लुबाट त्रिपुराकोट सम्म मात्र टेन्डर गरेर काम सुरु गरेमा मात्र यस सडक खण्डको ठुलो उपलब्धी हुने आयोजनाको भनाई छ ।

 आर्थिक वर्ष २०७९-८० मै स्रोत सुनिश्चित गरेर काम सुरु गर्ने भनिएपनि अर्थ मन्त्रालयले सहमति नदिदा काम रोकिएको थियो । यो आर्थिक वर्षमा दोस्रो पटक माग गर्दा पनि स्रोत सुनिश्चित गर्न ढिलाइ गरी काममा अवरोध गर्नु भनेको डोल्पा विकास विरोधी अभियान भएको डोल्पा त्रिपुराकोटका रामचन्द्र न्यौपाने बताए । कच्ची सडक र पुल नहुँदा अहिले यो सडक खण्ड हैरानीको मार्ग बन्दै गएको उनको भनाई छ । यो सडकको बजेट सुनिश्चित नहुने हो भने आयोजनाको प्रगती समेत गर्न नसकिने अवस्था छ । कर्मचारीको संख्या थप भएपनि काम नहुँदा प्राविद्यिकहरु खाली बस्नु पर्ने अवस्था आउने सम्भावना बढेको छ । 

भारतको रोपैडियाँ लुम्बिनी प्रदेशको नेपालगन्ज ,कर्णाली प्रदेशको सुर्खेतको छिन्चु , सल्यानको सल्लीबजार , जाजरकोट , रुकुम पश्चिम र डोल्पा र चिनको सिमाना क्याटो , मरिम्ला जोडिने गर्दछ । त्रिदेशीय सडकको रुपमा विकास गरी यसलाई सरकारले प्राथमिकता राखेर काम गरे चिनसँगको व्यापारमा समेत सहज आउने डोल्पालीले माग गर्दै आएका छन् । भेरी नदीको किनारै किनार यो सडक रहेको छ । दुनै सम्म अहिले कच्ची सडक भएपनि सो भन्दा माथी उपल्लो डोल्पामा सडक छैन । पालिकाले आफ्नै पहलमा केही आन्तरिक सडक निर्माण गरेपनि चिनबाट ल्याएका मोटरसाइकल सञ्चालन हुने गरेका छन् । दुनैबाट माथि चिनबाट आएको बाँकी सडक बिचमा जोडिन सकेको छैन । उत्ता प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले भेरी करिडोरको सडकमा बजेट अपुग हुन नदिने पटक , पटक बताउदै आएपनि अर्थ मन्त्रालयले काममा भाँचो हाल्दै आएको छ । 

पुल निर्माणमै बाधा 

पुल निर्माण गर्नका लागि समेत अर्थमन्त्रालयले स्रोत सुनिश्चि नगर्दा भेरी करिडोरमा बाँकी पुलको काम हुन सकेको छैन । ठेक्का लागेर निर्माण चरणमा जानुपर्ने पुलहरुमा समेत पुल विभागले डिजाइन स्वीकृत नगर्दा काममा बिलम्ब हुँदै आएको छ । बाँकी पुलको समेत बजेट अर्थ मन्त्रालयले सुनिश्चित नगर्दा ठेक्का समेत हुन सकेको छैन । भेरी करिडोरको चुँगाड , रिजिगाड , उसुमखोला , करवगाड , खदाङ , मैदे खोला पक्की पुलको लागि स्रोत सुनिश्चित हुन ढिला भएको छ । त्यस्तै तल्लु , छलगाड , झिम्रिखोला , ताँसुगाडको ठेक्का लागीसकेको छ । पिपेको मात्र डिजाइन स्वीकृत भएको छ । अन्य पुलको डिजाइन स्वीकृत नहुँदा समस्य भएको छ । 

यि मध्ये केही ठाउँमा अहिले बेलिब्रिज पुलहरु निर्माण भएर अस्थायी रुपमा यातायातका साधनहरु सञ्चालनमा रहेका छन् । झिमिखोला, नलगाड , करवगाड, खदाङ , त्रिपुराकोटमा बेलिब्रिजबाट अस्थायी रुपमा यातायातका साधनहरु सञ्चालनमा रहेका छन् । रुपगाडमा अझैँ बेलिब्रिज निर्माण हुन सकेको छैन । सडक डिभिजन चौरजहारीबाट अलग गराइ भेरी करिडोर सडक आयोजना नामाकरण गरि नयाँ कार्यालय स्थापना भएको ६ महिना पुरा हुँदैछ । काममा ढिला सुस्ती गर्नेलाई छिटो गराउनका लागि ताकेता नगर्ने यस क्षेत्रका जनप्रतिनिधिका कारण काममा ढिला हुँदै आएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै