• २०८१ बैशाख २२ शनिबार

साउदी क्लब च्याम्पियन्स लिगमा खेल्ने कुनै सम्भावना छैन- युइएफए अध्यक्ष

kharibot

युइएफएका अध्यक्ष एलेक्सान्डर सेफेरिन

काठमाडौँ । युरोपियन फुटबल फेडेरेसन (युइएफए) ले साउदी प्रो लिग क्लब च्याम्पियन्स लिगमा सहभागी हुने कुनै सम्भावना नभएको स्पष्ट गरेको छ ।

युइएफएका अध्यक्ष एलेक्सान्डर सेफेरिनले फ्रेन्च डेली ला इक्विपसँग कुरा गर्दै साउदी क्लब च्याम्पियन्स लिगमा खेल्ने सम्भावना अस्वीकार गरेका हुन् ।

सेफेरिनले च्याम्पियन्स लिगमा युरोपियन क्लबको मात्र सहभागिता हुने नियम रहेको र यस बाहिर जान पुरै नियम परिवर्तन गर्नुपर्ने र त्यसको लागि आफुहरु इच्छुक नरहेको बताएका छन् ।

यससँगै च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डो, नेइमार र करिम बेन्जमा जस्ता सुपर स्टारको तत्काल पुनरागमन असम्भव देखिएको छ ।

यस अघि साउदी प्रो लिगका प्रमुख अपरेटिङ अफिसर कार्लो नोहराले युरोपको एलिट प्रतियोगितामा साउदी पक्षको प्रवेशको सम्भावनाको संकेत गरेका थिए । उनले वाइल्ड कार्ड मार्फत साउदी क्लब च्याम्पियन्स लिगमा जाने सम्भावना रहेको बताएका थिए ।  

तर यस विषयमा युइएफए अध्यक्ष सेफेरिनले भने- 'मिडिया आउटलेटले हामीलाई न सोधी नै यसबारे कुरा गर्यो । केवल युरोपेली क्लबहरूले च्याम्पियन्स लिग, युरोपा लिग र सम्मेलन लिगमा भाग लिन सक्छन् ।'

साथै अध्यक्ष सेफेरिनले च्याम्पियन्स लिगको फाइनल अमेरिका हुने कुनै सम्भावना नरहेको स्पष्ट गरे । उनले भने- केवल युरोपेली एसोसियसनहरूले मात्र फाइनल होस्ट गर्न आवेदन दिन सक्छन्, क्लबहरूले पनि होइन ।'

साथै अध्यक्ष सेफेरिनले क्रिस्टियानो रोनाल्डो, नेइमार, करिम बेन्जमा, रुबेन नेभेस, साडियो माने र एनगोलो कान्टे जस्ता ठूला नामहरु साउदी लिगमा गएपनि आफु साउदी लिगले युरोपसँग प्रतिष्पर्धा गर्न सक्छ भन्ने कुरामा चिन्तित नभएको बताएका छन् ।

उनले चिनिया लिगको उदाहरण दिदै यस अघि चीन यस्तै प्रयास गरेको तर त्यसपछि चीन विश्वकपमा नै छनौट हुन नसकेको बताए ।

उनले भने- 'यो कुनै खतरा होइन, हामीले चीनमा यस्तै देख्यौं, जसले क्यारियरको अन्त्यमा रहेका खेलाडीहरूलाई धेरै पैसा दिएर किने तर चिनियाँ फुटबलको विकास भएन र त्यसपछि विश्वकपका लागि नै छनौट हुन सकेनन् । त्यहाँ खेलाडीहरू आफ्नो करियरको अन्त्य तिर छन् र अरूहरू जो शीर्ष प्रतियोगिताहरूमा पुग्ने महत्वाकांक्षी छैनन् ।'

साथै उनले किलियन एम्बाप्पे र इर्लिंग हालाण्ड जस्ता खेलाडीहरुलाई साउदी लिगले आकर्षित गर्न नसक्ने भन्दै आफ्नो क्यारियरको शिखरमा रहेका उत्कृष्ट खेलाडीहरू साउदी अरब जान्छन् भन्ने कुरामा आफु विश्वस्त नरहेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै