• २०८१ बैशाख २८ शुक्रबार

संसदमा चिनियाँ राजदूतको अभिव्यक्तिप्रति आपत्ति, स्पष्टीकरण सोध्न माग

kharibot

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसद धवलशमशेर जबरा र जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदुतको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । 

केहि दिन अघि काठमाडौंमा नेपाल चाइना हिमालय फ्रेन्डसिप नेपाल नामक गैरसरकारी संस्थाको कार्यक्रममा राजदूत सोङले ‘भारतजस्तो छिमेकी मुलुक नेपालले पाउनु दुर्भाग्य भएको’ भन्ने अभिव्यक्ति दिएका थिए ।

राप्रपाका सांसद जबराले चिनियाँ राजदुतको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राजदुतले तेस्रो मुलुको बारेमा टिप्पणी गर्न नमिल्ने बताएका थिए । उनले सरकारले चिनियाँ राजदुतलाई कुटनीतिक नोट पठाउनुपर्ने माग गरेका थिए ।

त्यस्तै जनमत पार्टीका अब्दुल खानले नेपालको परराष्ट्र नीति निर्धारण गर्ने अधिकार विदेशी मुलुकका राजदूतको नभएको बताएका थिए । उनले भने- 'विदेशी मुलुकको राजदूतले परराष्ट्र नीति निर्धारण गर्ने होइन । नेपालको कस्तो परराष्ट्र नीति राख्ने नेपालले आफैँ निर्धारण गर्ने हो ।'

साथै सांसद खानले चिनियाँ राजदूतको उक्त अभिव्यक्तिका विषयमा तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले भने- 'उक्त राजदूतलाई परराष्ट्र मन्त्रालयले तुरुन्त स्पष्टीकरण लिनुपर्छ । तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग गर्दछु ।'

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लले पनि चिनियाँ राजदूतको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले त्यसबारे परराष्ट्र मन्त्रालयले छिट्टै जवाफ दिनुपर्ने माग गरे । सांसद शुक्लाले भने- 'छिमेकी मुलुकको राजदूतको अभिव्यक्तिप्रति घोर आपत्ति गर्न चाहन्छौँ । परराष्ट्र मन्त्रालय जुन किसिमले मौन बसेको छ, नोटिसमा लिने तर नबोल्ने स्थिति उचित होइन ।'

के भनेका थिए राजदुत सोङले ?
 
राजदूत सोङले नेपाल र भारतबीच भइरहेको विद्युत व्यापारका बारेमा गैरकूटनीतिक टिप्पणी गरेका थिए । उनले नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्नसक्ने बताएका थिए । उनले भनेका थिए- 'नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात गर्‍यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात गर्‍यो। भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ ? । 

राजदूत सोङले नेपाल ऊर्जा क्षेत्रमा सक्षम रहे पनि उल्टै भारतबाट ठूलो पुँजीमा विद्युत आयात गरिरहेको बताए । राजदुत सोङले भने- 'भारतसँगको विद्युत व्यापारमा नेपाल घाटामा छ । गर्व गर्ने क्षेत्रमै घाटा खाइरहेको नेपालले अर्थतन्त्रमा कसरी आत्मनिर्भर बन्नसक्छ ?'

उनले नेपालले कृषि क्षेत्रमा पनि भारतबाट अर्बौंको कृषि उत्पादन आयात गरिरहेको बताउदै भनेका थिए- 'आर्थिक वर्षको पहिलो महिनामै नेपालले ७ अर्बको कृषि उत्पादन भारतबाट आयात गरेको छ । यसैलाई आधार मान्ने हो भने नेपालले भारतबाट एक वर्षमा एक खर्बको कृषि उत्पादन आयात गर्छ ।'

उनले चिनियाँ अर्थतन्त्र नेपालको लागि राम्रो हुने दाबी गर्दै नेपालले चीनको अर्थतन्त्रबाट केही सिक्नुपर्ने बताए । 'चीनको भविष्य एकदम राम्रो छ। नेपालजस्ता अति कम विकासित मुलुकहरूको अर्थतन्त्र उकास्न चीनले सहयोग गर्दै आएको छ,' उनले भने, 'नेपालीहरूलाई मेरो सुझाव छ, नेपालको आर्थिक अवस्थाको पुनर्संरचना हुनुपर्छ। चिनियाँ अर्थतन्त्रको संरचनाबाट नेपालले केही सिक्नुपर्छ। चिनियाँ अर्थतन्त्रलाई नजिकबाट नियाल्नुपर्छ।'

राजदूत सोङले आफूले नेपाल कृषि उत्पादन निर्यात गर्ने मुलुक भएको सुनेको तर यथार्थमा अहिले नेपालले कृषि उत्पादन भारतबाट आयात गरिरहेको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै