• २०८१ बैशाख १८ मंगलबार

जोकोभिचले जिते युएस ओपनको उपाधि

kharibot

काठमाडौँ । नोभाक जोकोभिचले युएस ओपन २०२३ को उपाधि जितेका छन् । न्यूयोर्कमा भएको फाइनलमा रसियन खेलाडी डेनिल मेदभेदेवलाई हराउँदै जोकोभिचले आफ्नो २४औं ग्रान्ड स्लाम एकल उपाधि जितेका थिए ।

कठिन खेलमा सर्बियाका ३६ वर्षीय जोकोभिचले ६-३, ७-६ (७-५), ६-३ को सेटमा मेदभेदेवलाई पराजति गरेका हुन् ।

जोकोभिचले पहिलो सेट ६–३ ले सहजै जितेका थिए । यसपछि एक घन्टा ४४ मिनेटसम्म चलेको दोस्रो सेटमा जोकोभिच र मेदभेदेवबीच भिडन्त भएको थियो । यो सेट जोकोभिचले ७-६ (७-५) ले जिते । तेस्रो सेटमा जोकोभिचले मेदभेदेवलाई ६-३ ले पराजित गर्दै जित निकालेका थिए ।

दोस्रो वरियताका जोकोभिच दोस्रो सेटमा अलिकति अप्ठ्यारोमा परे पनि चौथो पटक युएस ओपनको उपाधि जितेका छन् । यस वर्षको सुरुमा जोकोभिचले राफेल नाडालको २२ ग्रान्डस्लाम उपाधि जित्ने कीर्तिमान तोडेका थिए । उनले २०२३ मा चारमध्ये तीन ग्रान्डस्लाम उपाधि जितेका छन्।

जोकोभिचले अहिलेसम्म ३६ पटक ग्राण्डस्लाम फाइनल खेलेका छन् भने २४ पटक उपाधि जितेका छन् । उनी १० पटक अस्ट्रेलियन ओपन च्याम्पियन र सात पटक विम्बल्डन च्याम्पियन बनेका छन् । तीन पटक फ्रेन्च ओपनको उपाधि पनि जितेका छन् ।

जोकोभिचले पछिल्लो पटक २०१८ मा युएस ओपनको उपाधि जितेका थिए । यो प्रतियोगितापछि जोकोभिच फेरि विश्व नम्बर एक बन्नेछन् । जोकोभिच तेस्रो पटक एउटै वर्षका चारवटै प्रमुख प्रतियोगिताको फाइनलमा पुगेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै