• २०८१ बैशाख २० बिहीबार

सडक स्तरोन्नतिले ल्यायो पश्चिम सुर्खेतवासीमा खुसीयाली

kharibot

सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो ।

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो ।

सुर्खेत पश्चिमका नागरिकको लाइफ लाइनका रूपमा रहेको सडकखण्डलाई पक्की बनाउने हरेकपटक चुनावी नारा बन्थ्यो । तर चुनाव सकिएपछि कहिल्यै टालो नफेरेको उक्त सडकखण्ड २९ वर्षपछि स्तरोन्नतिको काम सुरु भएपछि पश्चिम सुर्खेतवासी नागरिकमा खुसीयाली छाएको छ । चौकुने गाउँपालिका–२ का ६५ वर्षीय मानबहादुर बडुवाल सडक सुधार हुँदा निकै खुसी छन् ।

हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति हुन थालेपछि अब दुःखका दिन सकिने उनको आशा छ । “यहाँका नागरिक बिग्रँदो अवस्थाका कारण वर्षात्अगावै घरायसी सामानको जोहो मिलाउँथे ।सडक पक्की बनेपछि त्यो अवस्था सकिनेछ”, उनले भने । मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरी हाल तीव्रगतिले काम भइरहेको छ ।

तीन खण्डमध्ये बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्डको निर्माण सम्झौता भई तीव्रगतिले काम भइरहेको छ भने खम्बागाडे–विद्यापुर सडकखण्डको काम सुरु हुँदैछ ।

राजमार्गको तीन खण्डमध्ये दुईवटा खण्डमा मदन भण्डारी राजमार्गले र एक खण्डमा कर्णाली प्रदेश सरकारले काम गर्दैछ । बाँकी खण्ड बल्देबाट लगामसम्मको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) स्वीकृत भइसकेको छ भने लगामबाट कर्णाली सडकखण्डको आइइई स्वीकृतको चरणमा रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद आचार्यले बताउछन् । उनका अनुसार सडक निर्माणमा पश्चिम सुर्खेतवासीदेखि जनप्रतिनिधिहरूको समेत साथ रहेकाले अब सम्झौता मितिभित्रै सडक निर्माण हुनेछन् ।

जग्गा मुअब्जाका लागि घरटहराको लगत लिने काम भइरहेको उहाँले बताउनुभयो । हाल तीनवटै सडकखण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लगायतका काम सम्पन्न भइसकेका छन् ।

मध्यपहाडी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले नेपालको पूर्वबाट पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।

बड्डीचौरबाट खम्बागाडेसम्मको १३ किलोमिटर सडक तीनवटा मोटरेबल पुल निर्माण सम्झौता भई अघि बढेका छन् । हाल यो सडकखण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ ।

हाल उक्त खण्डमा नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको छ । यसै खण्डमा पुनःनिर्माणको काम सडक डिभिजन कार्यालय सुर्खेतले गरेको छ ।

यो सडकखण्डमा सात किलोमिटर जङ्गल क्षेत्र छ । तर समयमा रुख कटान आदेश नआउँदा काममा ढिलाइ हुने गरेको छ ।

यसका लागि कर्णाली प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । विसं २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

खम्बागाडेबाट विद्यापुरसम्मको १० किलोमिटर सडकखण्डको काम भने अघि बढ्न सकेको छैन । सडक निर्माणका लागि ठेक्का व्यवस्थापन गरिँदैछ भने बहुवर्षीय स्रोत सुनिश्चितताका लागि प्रक्रिया अघि बढेको आयोजना प्रमुख आचार्यले बताए ।

विद्यापुरबाट बल्देसम्मको सडकखण्ड २२ किलोमिटर छ । यो सडकखण्ड ठेक्का व्यवस्थापन भई हाल निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको २२ किलोमिटर सडकखण्डको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नु पर्नेछ । राजमार्ग क्षेत्रमा पर्ने रुख कटानको कानुनी प्रक्रिया पूरा भएपछि विस्तृत काम अघि बढ्ने आयोजना कार्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले निर्धारित मितिमै काम सम्पन्न गर्ने बताए । “अनेक समस्याबीच पनि कामको रफ्तार देख्दा निकै खुसी लाग्यो । अहिले ठेकेदारप्रति गुनासो गर्ने ठाउँ छैन”, उनले भने, “सडक निर्माण समयमै सम्पन्न गर्न सबैले सहयोग गरौँ ।” समयमै काम सम्पन्न गर्न र रुख कटानका लागि आवश्यक पहल गर्ने मन्त्री चपाईँले आश्वासन दिए ।

सडककै कारण अहिले पश्चिम सुर्खेतका किसानले उत्पादन गरेको दूध र तरकारी बजारमा बेच्नका लागि महिलाले पैदल नै बजारसम्म पुगेर बेचेर फर्कनुपर्ने बाध्यता छ ।

बिहानको झिसमिसेमै पैदल हिँडेर स्थानीय बजारमा दूध र तरकारी बेच्न जाने महिला साँझमात्रै घर फर्किनुपर्ने बाध्यता छ ।

सडक स्तरोन्नति भएपछि उत्पादित वस्तु बेचेर ग्रामीण क्षेत्रका किसानको आयआर्जनमा वृद्धि हुने चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश)ले बताए ।

उनले भने, “सडक स्तरोन्नतिपछि ढुवानीका साधन पनि बारीबारीमै पुग्नेछन् । कुहिएर जाने तरकारी बजारमा पुग्नेछ । कृषकले आफ्ना वस्तु सजिलै बजार पुर्याउने अवस्था आउनेछ । किसानको उत्पादन गाउँमै राम्रो मूल्यमा बिक्री हुनेछ ।” सडक सञ्जालले आम मानिसलाई करेसाबारीमा फलेका तरकारी होस् या खेतबारीमा फलेको अन्न, बजार पुर्याउन सहज बनाउनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै