• २०८१ बैशाख १६ आइतबार

जर्मनी विदेशमन्त्री बेरबकले चिनियाँ राष्ट्रपति सीलाई तानाशाह भनेपछि...

kharibot

काठमाडौँ । जर्मनी विदेशमन्त्री एनालेना बेरबकले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तानाशाह भनेपछि चीन र जर्मनीबीच नयाँ विवाद शुरु भएको छ ।

एक अन्तर्वार्ताकोक्रममा विदेशमन्त्री बेरबकले पुटिनले युक्रेनविरुद्धको युद्ध जितेमा यसले चीनका राष्ट्रपति जिनपिङ जस्ता विश्वका अन्य तानाशाहहरूलाई कस्तो सन्देश दिन्छ भन्दै टिप्पणी गरेको विषय विवादमा परेको हो । बेरबकले युक्रेनले यो युद्ध जित्नुपर्ने बताउदै लोकतन्त्र र स्वतन्त्रताको जित हुनुपर्ने बताएकी थिइन् ।

सीएनएनका अनुसार विदेशमन्त्रीको भनाइबाट आक्रोशित चीनले तत्कालै चीनका लागि जर्मन राजदूत प्याट्रिसिया फ्लोरलाई बोलाएर विरोध जनाएको छ । चीनको विदेश मन्त्रालयले भनेको छ– 'जर्मनीले दिएको वक्तव्य बेतुका र चीनको राजनीतिक मर्यादाको हनन भएको छ । यो भनाइ चीनलाई उक्साउन दिएको हो ।'

यसअघि जुनमा अमेरिकी राष्ट्रपति बाइडेनले पनि सी जिनपिङलाई तानाशाह भनेका थिए । त्यसपछि बेइजिङको चर्को प्रतिक्रिया आएको थियो ।

जर्मनीका विदेशमन्त्री बेरबकले लगातार चीनप्रति कठोर दृष्टिकोण अपनाउने कुरा गर्दै आएकी छन् । बेरबकले ताइवान र मानवअधिकारको विषयमा पनि चीनविरुद्ध बयान दिएका छन् । गत अगस्टमा, बेरबकले एक अस्ट्रेलियाली थिंक-ट्याङ्कलाई चीनले संसारमा सँगै बस्ने पूर्वाधारमा चुनौती खडा गरेको बताएकी थिइन् ।

गत अप्रिलमा बेइजिङ भ्रमण गरेकी बेरबकले चीनले ताइवान कब्जा गर्ने प्रयास गरे स्वीकार नगर्ने चेतावनी दिएकी थिइन् । उनले चीन अहिले व्यापारिक साझेदार र प्रतिस्पर्धी नभई प्रतिद्वन्द्वी बन्दै गएको बताएकी थिइन् । 

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले उनलाई चीनलाई बदनाम गरेको र यसबारे गलत धारणा बनाएको आरोप लगाएको थियो।

डिडब्लुका अनुसार सैन्य रूपमा शान्त रहेको जर्मनीले अहिले इन्डो–प्यासिफिक क्षेत्रमा सक्रिय हुन थालेको छ । जुलाई २०२३ मा, जर्मनीले पहिलो पटक अमेरिका र अष्ट्रेलियासँग संयुक्त सैन्य अभ्यासका लागि अष्ट्रेलिया पठाएको थियो । पश्चिमी देशहरू र जर्मनीलगायत चीनका छिमेकीहरूले बेइजिङले सैन्य प्रभुत्वमार्फत दक्षिण चीन सागरको अवस्था परिवर्तन गर्न खोजेको आरोप लगाउँदै आएका छन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै