• २०८१ बैशाख १५ शनिबार

धुलिखेल दक्षिण एशियाली ‘हेल्दी सिटी’को सदस्य बन्दै

kharibot

काभ्रेपलाञ्चोक । पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यसै महिना धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा दक्षिण पूर्वी एशियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरिने कार्यक्रम  छ ।

सदस्यता ग्रहण गरेसँगै दक्षिणपूर्वी एशियाली विश्व स्वास्थ्य सङ्गठनको ‘स्वस्थ सहर सञ्जाल’को सात सहरमध्ये धुलिखेल पनि एक सदस्य हुनेछ । नगरापालिाकाले सबै मापदण्ड पूरा गरेकाले सङ्गठनले सदस्यता प्रदान गर्ने तयारी भएको जनाइएको छ ।

सदस्यता प्रदान गर्ने मिति तय भएपछि  ग्रहण गर्न जाने तयारी गरिने नगर स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताए । उनका अनुसार नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्य (एस्डिजी) अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानीका चार लक्ष्य पूरा गरेर स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो । 

नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्र सङ्घमा पेस गरेको थियो । त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एशियामै धुलिखेल पहिलो नगर भएको जिकिरसमेत गरिएको थियो । 

नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाइ आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने कामसमेत गरेको जनाइएको छ । नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरले सर्वेक्षण गरेको हो । 

केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ । हाल हाईपरटेष्सन, मधुमेय र मानसिक स्वास्थ्य कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि बढाइएको प्रमुख केसीले बताए । 

धुलिखेल विश्व स्मार्ट दीगो सहर सङ्गठनको सन् २०२१ देखि २०२३ सम्मको कार्यसमिति सदस्यमा निर्वाचित नगर हो । विश्वका एक सय ३६ देशका सहर सदस्य रहेको सङ्गठनको विश्व स्मार्ट दीगो सहर सङ्गठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा पनि धुलिखेल निर्वाचित भएको थियो । नगरप्रमुख अशोक ब्याञ्जूले संसारका ठूला देशका सहरसँगै सङ्गठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु गौरवको विषय भएको बताए ।

यस्तै यस नगरले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको योजनासमेत बनाएको थियो । 

यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दीगोरुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको उनले बताए । 

उक्त कार्यक्रमबाट  वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दीगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुनाका साथै केही हदसम्म बेरोजगारी घट्ने र स्थानीय स्रोतको पहिचान तथा उपयोग गर्न सकिने जनाइएको छ । 

नगर प्रमुख ब्याञ्जूका अनुसार नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याएको छ । जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ ।

सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दीगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने जनाइएकोे छ । 

नगरपालिकाले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत वर्ष नोभेम्बर पहिलो साता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप–२६)मा चर्चाको विषय बनेको थियो ।

 नगरपालिकाले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरेकामा उक्त सम्मेलनमा विश्वका अधिकांश राष्ट्रले कोइलाको प्रयोग रोक्ने घोषणासमेत गरेका थिए । 

खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीयवासी सबैका घरमा प्रयोग भएका फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । 

नगर प्रमुख ब्याञ्जूका अनुसार नगरक्षेत्रभित्र एक वर्षदेखि कोइला प्रयोग पूर्णरुपमा प्रतिबन्ध छ । “धुलिखेलको एउटा काम विश्वमा चर्चा हुनु गौरवको विषय बनेको थियो”, उनले भने । 

धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ र एशियाको पहिलो सहर बनेको घोषणासमेत गरिएको थियो । धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । 

उक्त सन्धिअन्तर्गत रहेर नगरपालिकाले आफ्नो क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दीगो विकास र स्वस्थ तथा सफा वाताबरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै