• २०८१ बैशाख १५ शनिबार

नासाको सफलता: सात बर्षको प्रयासबाट क्षुद्रग्रहको नमुना पृथ्वीमा ल्यायो

kharibot

काठमाडौँ । नासाले आइतबार ठूलो उपलब्धि हासिल गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीको एक क्याप्सुल क्षुद्रग्रह बेन्नुको नमूना लिएर पृथ्वीमा अवतरण भएको छ ।

पृथ्वीमा अवतरण गरिएका नमूनाहरूले वैज्ञानिकहरूलाई सौर्यमण्डलको उत्पत्तिको बारेमा थप जानकारी प्राप्त गर्न मद्दत गर्ने नासाले बताएको छ । यो सफलताका लागि नासाले सात वर्ष कुर्नुपरेको थियो । नासाको एउटा क्याप्सुल एस्टेरोइड बेन्नुको नमूना बोकेर हाम्रो पृथ्वीमा अवतरण भएको छ । यसलाई प्यारासुटमार्फत युटाको मरुभूमिमा अवतरण गराइएको थियो । यो मरुभूमि अमेरिकी रक्षा विभागको यूटा परीक्षण र प्रशिक्षण दायरा अन्तर्गत पर्दछ ।

एजेन्सीका अनुसार नमूनामा करिब २५० ग्राम एस्टेरोइड चट्टान र माटो रहेको छ । यो क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा यसको गति ४४ हजार ४९८ किलोमिटर प्रतिघण्टा थियो । यो गति बन्दुकबाट चलेको गोली भन्दा १५ गुणा बढी मानिन्छ । नासाका प्रशासक बिल नेल्सनले यसलाई पृथ्वीमा आएको अहिलेसम्मको सबैभन्दा ठूलो क्षुद्रग्रहको नमूना भनेका छन् ।

नासाले आफ्नो मिसन ओसिरिस आरएक्सबाट यो सफलता हासिल गरेको हो । ओसिरिस आरएक्स मिशनले सात वर्षअघि २०१६ मा उडान भरेको थियो र सन् २०१८ मा बेन्नु क्षुद्रग्रहको परिक्रमा सुरु गरेको थियो । अन्तरिक्ष यानले २०२० मा नमूना संकलन गरेको थियो । मिशनले अन्ततः मे २०२१ मा पृथ्वीमा फर्किने लामो यात्रा सुरु गरेको थियो । मिसनले कुल ६.२२ बिलियन किलोमिटर यात्रा तय गरेको छ ।

नासाले अवतरणका क्रममा क्याप्सुलमा कुनै क्षति नभएको पुष्टि गरेको छ । मिसनका कार्यक्रम प्रबन्धक, सान्ड्रा फ्रुन्डले रिकभरी टोलीहरूका लागि महिनौंदेखि तालिम दिएको बताए । उनीहरुले क्याप्सुल सुरक्षित पाएपछि त्यसलाई आफ्नो नियन्त्रणमा लिएका थिए । क्याप्सुल पृथ्वीमा प्रवेश गर्दा यसको तापक्रम २,७६० डिग्री सेल्सियस पुगेको थियो ।

अब नासाले अक्टोबर ११ मा जोन्सन स्पेस सेन्टरबाट नमूनाको बारेमा विवरण दिने बताएको । नासाका वैज्ञानिकहरूले मंगलबार नमूनाबाट केही राम्रो सामग्री सङ्कलन गर्ने योजना बनाएका छन् । नासासँग सम्बद्ध वैज्ञानिक लोरेटाले प्रारम्भिक विश्लेषणमा खनिज र रासायनिक तत्वको उपस्थिति पत्ता लाग्ने बताएका छन् ।

वैज्ञानिकहरूले जोन्सन स्पेस सेन्टर भित्रको छुट्टै सफा कोठामा अर्को दुई वर्षसम्म चट्टान र माटोको विश्लेषण गर्नेछन् । नमूनाहरू पनि विभाजन गरी विश्वभरका प्रयोगशालाहरूमा पठाइनेछ । 

नमूना किन महत्त्वपूर्ण छ ?

नमूनाको साथ आएको चट्टान र माटोले हाम्रो सौर्यमण्डलको सुरुवातको बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गर्न सक्ने बताइएको छ । वैज्ञानिकहरू विश्वास गर्छन्, बेन्नू जस्ता कार्बनसियस क्षुद्रग्रहहरू पृथ्वीको निर्माणको क्रममा प्रारम्भिक ग्रहमा दुर्घटनाग्रस्त भएका थिए, जसले पानी जस्ता तत्वहरू प्रदान गर्दछ ।

बेन्नु सौर्यमण्डलको आफ्नै सबैभन्दा पुरानो सामग्रीको प्रतिनिधि हो, जुन विशाल ताराहरू र सुपरनोभा विस्फोटहरूमा बनाइएको हो । त्यसैले नासाले हाम्रो सौर्यमण्डल कसरी गठन भयो भन्ने बारे वैज्ञानिकहरूको बुझाइ बढाउन साना निकायहरूलाई समर्पित यी मिसनहरूमा लगानी गरिरहेको छ ।

नमूनाको पृथ्वीमा अवतरणले भविष्यमा पृथ्वीमा ठोक्किने सम्भावना रहेको क्षुद्रग्रहको बारेमा पनि जानकारी दिन सक्छ । यो हाम्रो ग्रहसँग ठोक्किन सक्ने पृथ्वीको नजिकका क्षुद्रग्रहहरूको संख्या बारे थप बुझ्न महत्त्वपूर्ण हुने उनीहरुको दाबि छ । कुन क्षुद्रग्रहहरू पृथ्वीको सबैभन्दा नजिक आउन सक्छन् भनेर भविष्यवाणी गर्न तिनीहरूको संरचना र कक्षाको राम्रो बुझाइ महत्त्वपूर्ण छ, जुन यस नमुनाको अध्ययनबाट केहि स्पष्ट हुन सक्ने वैज्ञानिकहरुले विश्वास गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै