• २०८१ बैशाख १५ शनिबार

डिसेम्बरमा बलिवुडका सात फिल्मको भिडन्त

kharibot

काठमाडौँ । आगमी डिसेम्बर महिना बलिवुड प्रेमीहरूका लागि धेरै विशेष हुने भएको छ । डिसेम्बरमा शाहरुख खानको डंकी, प्रभासको सालारलगायत ७ ठूला फिल्महरू रिलिज हुँदैछन् ।

एकै महिनामा ७ ठुला फिल्म रिलिज हुने मात्र होइन यिनीहरु एक आपसमा भिड्न पनि लागेका छन् । ठुला बजेटको भिडन्तमा अन्तत: फिल्मी क्षेत्रलाई नै नोक्सान हुने भन्दै आलोचना भइरहेको भएपनि डिसेम्बर सात ठुला फिल्म रिलिज हुने तयारीमा रहेका छन् ।  

डिसेम्बरमा डंकी, सालार, मेरी क्रिसमस, योद्धा, एनिमल, साम बहादुर, आर्जिज र अप्रेशन भ्यालेन्टाइन फिल्म रिलिज हुदै छन् । 

डिसेम्बर १ मा रिलिज हुने २ फिल्म एनिमल र साम बहादुरसँग महिना सुरु हुनेछ । फिल्म एनिमलमा रणवीर कपूर, रश्मिका मन्दन्ना, अनिल कपुर र बबी देओल मुख्य भूमिकामा छन् । यो फिल्म अर्जुन रेड्डी (तेलुगु) र कबीर सिंह (हिन्दी) को लागि परिचित सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् ।

त्यसैगरी फिल्म साम बहादुर मेघना गुलजारको बायोपिक फिल्म हो । फिल्ममा विक्की कौशल साम मानेकशको भूमिकामा छन् । फिल्ममा उनी बाहेक फातिमा सना शेख र सान्या मल्होत्राको पनि महत्वपूर्ण भूमिका छ । योसँगै पहिलो दिननै दुई फिल्मको भिडन्तबाट बलिवुडमा डिसेम्बर महिना शुरु हुने भएको छ ।

त्यस्तै डिसेम्बरमा बलिवुड दोस्रो भिडन्त डिसेम्बर ८ मा योद्ध, मेरी क्रिसमस र अपरेसन भ्यालेन्टाइन गरी ३ फिल्मबीच हुने भएको छ । योद्धा यसअघि डिसेम्बर १५ मा रिलिज हुने तय भएपनि अब डिसेम्बर ८ मा रिलिज हुने भएको हो । सागर अम्बर र पुष्कर ओझाले निर्देशन गरेको यस फिल्ममा सिद्धार्थ मल्होत्रा, दिशा पटानी र राशि खन्नाको मुख्य भूमिका रहेको छ । यसको टक्कर कट्रिना कैफ र विजय सेतुपतिको थ्रिलर फिल्म मेरी क्रिसमससँग हुनेछ । मेरी क्रिसमसलाई श्रीराम राघवनले निर्देशन गर्दैछन् । तेस्रो फिल्म अपरेसन भ्यालेन्टाइनमा मानुषी छिल्लर र वरुण तेजले अभिनय गरेका छन् ।

डिसेम्बरको सबैभन्दा ठूलो भिडन्त शाहरुखको डंकी र प्रभासको सालारबीच २२ डिसेम्बरमा हुनेछ । दुबै ठूलो बजेटका चलचित्र हुन् र उत्कृष्ट स्टारकास्टिङ रहेको छ । डंकीको निर्देशन राजकुमार हिरानीले गरेका हुन्, जसमा शाहरुख खान र तापसी पन्नु मुख्य भूमिकामा छन् । यस वर्ष रिलिज भएका शाहरुखका फिल्म पठान र जवान सुपरहिट भएकाले डंकीबाट पनि धेरै अपेक्षा राखिएको छ । अर्कोतर्फ साउथ स्टार प्रभास स्टारर फिल्म सालारसँगै रिलिज हुने भएपछि डिसेम्बर २२ लाई बलिवुड बक्स अफिसको अहिलेसम्मकै ठुलो भिडन्त भनिएको छ ।

सुरुमा सालार १४ अप्रिल २०२२ मा रिलिज हुने थियो, तर केजीएफ-२ सँगको टकरावबाट बच्न यसको रिलिज स्थगित गरिएको थियो । त्यसपछि सेप्टेम्बर २८ मा रिलिज हुने थियो तर अब निर्माताले २२ डिसेम्बरमा रिलिज गर्ने घोषणा गरेका छन् । यो फिल्मलाई केजीएफ फेम  निर्देशक प्रशान्त नीलले निर्देशन गर्दैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै