• २०८१ बैशाख १६ आइतबार

आपराधिक गिरोहको नियन्त्रणमा रहेका मलेसियाली र ताइवानीहरूको पेरु प्रहरीबाट उद्धार

kharibot

लिमा । पेरु प्रहरीले बन्धक बनाई जबर्जस्ती फिरौती लिने ताइवानी आपराधिक सङ्गठनबाट बन्धक बनाइएका ४४ जनाको उद्धार गरेको सोमबार बताएको छ ।

आफूलाई प्रहरी वा न्याय अधिकारीका रूपमा देखाएर ती विदेशीहरूलाई मलेसियाली र ताइवानी कम्पनीहरूबाट पैसा माग्न बाध्य पारिएको मानव तस्करी अनुसन्धान एकाइका प्रमुख जनरल कार्लोस मालाभेरले बताए । उनका अनुसार राजधानी लिमाको एक उपनगरबाट कारवाहीका क्रममा उद्धार गरिएका ४४ मध्ये ४३ जना मलेसियाका र एक ताइवानी रहेका छन् ।

उनीहरू रातिको समयमा मात्र काम गर्थे र सङ्कटपूर्ण अवस्थामा रहेका थिए । उनीहरूलाई दिनको एक समयमात्र खान दिइन्थ्यो ।

प्रहरीले छ ताइवानी र दुई पेरुभियालीलाई पक्राउ गरेको छ । मलेसियाको विदेश मन्त्रालयले सोमबार ४३ जनाको उद्धार भएको पुष्टि गरेको छ ।

लिमास्थित दूतावासका अधिकारीहरू उनीहरू भएको स्थानमा पुगेको र उनीहरूको अवस्था राम्रो रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

“पीडित सबैको अनुसन्धान प्रक्रिया सकिएको छ र उनीहरूलाई चाँडै मलेसिया फर्काइने छ”, मन्त्रालयले भनेको छ । बन्धक बनाइएकाहरू सामाजिक सञ्जालमार्फत राजधानी लिमामा क्यासिनोमा काम पाउने आश्वासनमा गत सप्टेम्बरमा पेरु प्रवेश गरेका थिए । आफूहरूलाई नेदरल्यान्ड्सको आमस्र्टडमा लगिएको र त्यहाँबाट पेरु पुर्याइएको उनीहरूले अनुसन्धानकर्ताहरूलाई बताएका छन् । 

पेरु पुगेपछि रेड ड्र्यागन भनेर चिनिने ताइवानी आपराधिक गिरोहका सदस्यहरूले उनीहरूको राहदानी खोसेको र आफन्तहरूसँग सम्पर्क विच्छेद गराएको प्रहरीले बताएको छ ।

दुई महिलाले भागेर प्रहरीलाई खबर गरेपछि त्यहाँ प्रहरी परिचालन गरिएको थियो । अनुसन्धानकर्ताहरूले विदेशीहरूलाई बन्धक बनाएर राखिएको घरबाट १० हजार डलर, दर्जनौँ सेलफोन र बैंक कार्डहरू बरामद गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै