• २०८३ असार ३० मंगलबार

होर्मुजमाथि इरानले किन गर्छ दाबी ?

होर्मुजमाथि इरानले किन गर्छ दाबी ?

काठमाडौँ । होर्मुज जलडमरूमध्य इरान र ओमानको बीचमा अवस्थित छ । यसको उत्तरी भाग इरानतर्फ पर्छ भने दक्षिणी भाग ओमानतर्फ पर्छ । सबैभन्दा साँघुरो स्थानमा यसको चौडाइ २१ समुद्री माइल (करिब ३९ किलोमिटर) मात्र रहेको छ ।

सुरुवातमा दुवै देशको समुद्री क्षेत्र सीमा ३ समुद्री माइलसम्म मात्र मानिन्थ्यो । तर पछि अन्तर्राष्ट्रिय समुद्री कानुनमा भएको परिवर्तनपछि इरानले सन् १९५९ मा र ओमानले सन् १९७२ मा आफ्नो समुद्री क्षेत्रको सीमा बढाएर १२-१२ समुद्री माइल (करिब २२-२२ किलोमिटर) पुर्‍याए ।

यो निर्णयपछि होर्मुज जलडमरूमध्यको सबैभन्दा साँघुरो भाग पूर्ण रूपमा इरान र ओमानको समुद्री क्षेत्रभित्र पर्न गयो । यद्यपि अन्तर्राष्ट्रिय समुद्री आवागमन सहज बनाउन दुवै तर्फबाट २-२ समुद्री माइल चौडा पारवहन मार्ग बनाइएको थियो ।

युद्ध सुरु भएपछि इरानले होर्मुज जलडमरूमध्य आफ्नो र ओमानको समुद्री क्षेत्रमा पर्ने भएकाले यहाँको सुरक्षा व्यवस्था र आवागमनसम्बन्धी निर्णय गर्ने अधिकार आफूमा रहेको दाबी गरेको छ ।

इरानले मे ४ मा होर्मुजको नयाँ नक्सा सार्वजनिक गर्दै जलडमरूमध्यको साँघुरो भागमा आफ्नो नियन्त्रण देखाएको थियो ।

तर अमेरिकाको भनाइ भने फरक छ । अमेरिकाले होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय समुद्री मार्ग भएको भन्दै कुनै पनि देशले यहाँबाट आवतजावत गर्ने व्यापारिक जहाज रोक्न नपाउने बताउँदै आएको छ । अमेरिकाले यस क्षेत्रमा आफ्ना लडाकु विमानसमेत तैनाथ गरेको छ ।

अहिले होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर इरान र अमेरिकाबीच फरक-फरक दाबी देखिएको छ । इरानले विदेशी सैन्य हस्तक्षेप स्वीकार नगर्ने बताएको छ भने अमेरिकाले जलडमरूमध्य विश्व व्यापारका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मार्ग भएकाले यसको सुरक्षा आफ्नो प्राथमिकता रहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै