• २०८१ बैशाख १६ आइतबार

एसिसी यु–१९ विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बधाई

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् । खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

नेपालले जित्यो एसिसी यू-१९ प्रिमियर कपको उपाधि

नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो । तर यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । 

त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए । अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए । यूएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए । 

जवाफी ब्याटिङमा उत्रिएको यूएईले सन्तोषजनक सुरुआत गरे पनि जित हासिल गर्न सकेन । उसका लागि ध्रुव परेशारलले सर्वाधिक ५९ रन बनाए भने कप्तान आयन खानले ३०, अर्यान्श शर्माले ३२ रन बनाए । 

नेपालका लागि आकाश त्रिपाठीले चार विकेट लिए भने सुवास भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै