• २०८१ बैशाख १६ आइतबार

अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

kharibot

काठमाडौँ । वृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सझदारी भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठ र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरे ।

सहमतिअनुसार राष्ट्र बैंक र महासङ्घले विविध विषयमा तथ्य र तथ्याङ्कमा आधारित अध्ययन अनुसन्धान गर्नेछन् ।

यस सम्झौताले राष्ट्र बैंक र महासङ्घबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढने गभर्नर अधिकारीले विश्वास व्यक्त गरे ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग केन्द्रीय बैंकको सहकार्यका लागि धन्यवाद दिदै आगामी दिनमा वास्तविकतामा आधारित नीति निर्माण गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । साथै यसले सही सूचना प्रवाहित हुने उनको भनाइ थियो ।

समझदारीअनुसार राष्ट्र बैंकले समय समयमा गर्ने अध्ययनमा महासङ्घ र सदस्य संस्थाहरुले आवश्यक सूचना एवं जानकारी उपलब्ध गराउने छ भने महासंघले गर्ने अध्ययनमा राष्ट्र बैंकको प्राविधिक सहयोग प्रदान गर्ने र आवश्यकताअनुसार संयुक्त अध्ययन अनुसन्धान पनि हुनेछ ।

समझदारी कार्यान्वयनका लागि सहजीकरण सेल निर्माण हुनेछ भने समझदारी पाँच वर्षसम्म लागू हुने जनाइएको छ ।

राष्ट्र बैंकमा आयोजित हस्ताक्षर कार्यक्रममा राष्ट बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गाना, महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै