• २०८१ बैशाख १७ सोमबार

पर्यटकीयस्थल नगरकोटमा सिमाङ्कनको प्रक्रिया थालियो

kharibot

फाइल तस्बीर

काभ्रेपलाञ्चोक । वर्षौँदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा सिमाङ्कन समस्या समाधानका लागि प्रक्रिया थालिएको छ । गत साउनमा दुई जिल्लाको चार नगरका जनप्रतिनिधि सम्मिलित गठित समितिले सीमास्थलको अनुगमन–निरीक्षण गरी प्रारम्भिक प्रतिवेदन तयार पारेको छ ।

चारै नगरका जनप्रतिनिधिले समितको प्रतिवेदन बुझ्दै अनुगमन–निरीक्षणसमेत गर्नुभएको छ । नगरकोट काभे्रपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नपा तथा भक्तपुरको चाँगुनारायण नपा र शङ्खरापुुर नपाको सङ्गमस्थल पनि हो ।

“सबैले प्रतिवेदन अध्ययन गरेपछि पुनः छलफल गरी सिमाङ्कनका तथ्यमा जाइनेछ”, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले भने ।

समितिले अनुगमन निरीक्षणबाट मिमाङ्कन समस्या समाधानका उपाय र विकल्पबारे प्रारम्भिक प्रतिवेदन बुझाएको हो । नापी विभागका नापी अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा गठित समितिमा चारै नगरका वडाध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौँ, काभे्रपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्राविधिक थिए । उक्त समितिलाई व्यवस्थापनमा आवश्यक सहयोग स्थानीय नाल्दुम–नगरकोट विकास समितिले गरेको थियो ।

यसअघि चार नगरबीच सिमाङ्कनबारे पटक–पटक बसेको बैठक तथा छलफलपछि समिति गठन गर्ने निर्णय गरेको थियो । मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइवाका अनुसार समितिको प्रतिवेदनका आधारमा थप छलफल गरी सिमाङ्कनको थप प्रक्रिया अघि बढाइनेछ । नगरकोटमा ‘पानी ढलो’का रूपमा काभ्रेपलाञ्चोक र भक्तपुर पर्ने बताइँदै आइएको छ ।

यसअघि भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लास्थित नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरले संयुक्त बजेट लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमा समेत भक्तपुरको चाँगुनारायण नगर र काभ्रेको मण्डनदेउपुर नगरबीचको विवाद दीर्घकालीनरूपमा समाधान गरिएको थियो । उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य नगरकोटको सीमाङ्कन एवं यस क्षेत्रको पर्यटन विकासका लागि दुवै नगर संयुक्त भएर कार्य गर्ने सहमतिसमेत भएको थियो ।

यस्तै नगरकोटका ठूला होटलले नै सार्वजनिक जग्गा हडपी भवन नै बनाएर होटल सञ्चालन गरेको विषयमा समेत विवाद हुँदै आएकाले विद्यमान सबै समस्या समाधान गर्ने र त्यस स्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले चाँगुनारायणका नगरप्रमुख खत्री र मण्डनदेउपुरका नगरप्रमुख वाइवासहितको टोलीबीच सहमति गरिएको थियो । विसं २०७९ पुसमा भएको सहमतिमा नगरकोटको सिमाङ्कन गर्ने, सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षण गर्ने र यस स्थललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने निर्णय गर्दै यसका लागि आगामी गुरुयोजना निर्माण गर्न दुवै नगरले रु १०–१० लाख बजेटसमेत विनियोजन गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै