• २०८१ बैशाख २१ शुक्रबार

भारतको उत्तराखण्डमा सुरुङमा फसेका कामदारहरूको उद्धारको प्रयास अझै जारी

kharibot

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा करिब दुई सातादेखि भत्किएको सडक सुरुङमा फसेका ४१ जना  कामदारलाई छुट्याएर अन्तिमसम्म भग्नावशेष खनेपछि एम्बुलेन्सहरूलाई बिहानैदेखि तयारी अवस्थामा राखिएको छ । 

घटनास्थलमा एएफपीका पत्रकारहरूले बिहानको समयमा आपत्कालीन सवारीहरू तयारी अवस्थामा राखिएको देखेको बताएका छन् । हिमाली राज्य उत्तराखण्डको सुरुङबाट उनीहरूलाई चाँडै मुक्त गरिने आशा अधिकारीहरूले गरेका छन् । 

नोभेम्बर २२ मा निर्माणाधीन सुरुङको एक भाग खसेपछि इन्जिनियरहरूले करिब ५७ मिटर माटो, कङ्क्रिट तथा भग्नावशेषबाट स्टिलको पाइप खन्ने काम गरिरहेका छन् ।

कयौँ दिनको दर्दनाक सुस्त प्रगतिपछि शक्तिशाली ड्रिलिङ मेसिनका साथ इन्जिनियरहरू बुधबार दु्रत गतिमा अगाडि बढेका छन् । यद्यपि धातुका रडहरूका कारण मार्ग अवरुद्ध हुँदा केबल १२ मिटर अगाडि बढ्ने काम सुस्त भएको छ । 

इन्जिनियरहरूले रड काट्नका लागि पाइपभित्र पस्ने र सो समयमा शक्तिशाली ड्रिलिङ गरिने मध्यरातमा उद्धार टोलीका वरिष्ठ सदस्य हरपाल सिंहले बताए । 

चिन्तित आफन्तहरू हिन्दू मन्दिर बनाइएको स्थलमा जम्मा भएका छन् । एक पुजारीले सुरुङभित्र फसेका कामदारहरूको सुरक्षित उद्धारका लागि प्रार्थना गरिरहेका छन् । 

“जुन दिन उनीहरू सुरुङबाट बाहिर आउँछन् त्यो दिन हाम्रा लागि सबैभन्दा खुशीको दिन हुनेछ”, ३५ वर्षीय चञ्चल सिंह विष्टले भने । सुरुङभित्र उनका २४ वर्षीय भाइ पुष्कर सिंह आर्य फसेका छन् । 

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बुधबार साँझ दुर्घटनास्थलमा पुगेर काम युद्धस्तरमा भएको बताए । 

भग्नावशेष खस्नुका साथै महत्त्वपूर्ण भारी मेसिन बारम्बार बिग्रिएर उद्धार कार्यमा अवरोध भएको छ । 

मङ्गलबार पहिलो पटक कामदारहरूलाई जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपको माध्यमबाट पठाएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्याइएको छ । 

उक्त सुरुङ मार्ग प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एउटा भाग हो । उक्त परियोजनाको उद्देश्य केही प्रसिद्ध तीर्थस्तल र चीनसँग सीमा जोडिएका क्षेत्रहरूबीचको यात्रा अवस्थामा सुधार गर्नु रहेको छ । 

यद्यपि विज्ञहरूले ठूलो भाग पहिरोको जोखिममा रहेको भन्दै उत्तराखण्डमा व्यापक निर्माणको प्रभावको बारेमा चेतावनी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै