• २०८१ बैशाख १६ आइतबार

अझै सुल्झेन सैलुङ्ग सीमा विवाद

kharibot

फाइल तस्बीर

मन्थली (रामेछाप) । रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकी क्षेत्र सैलुङ्गको सीमा विवाद अझै कायमै रहेको छ । सीमा विवाद मिलाउन दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक छलफल भए पनि विवादको अझै टुङ्गो लाग्न सकेको छैन ।  

सैलुङ्गको सिमाना यकिन गर्न विसं २०७७ फागुनमा रामेछाप र दोलखा जिल्ला समन्वय समितिले संयुक्त रुपमा नापी विभागलाई पत्राचार गरेका थिए । दोलखाले सैलुङ्गको टुप्पोलाई सिमाना कायम गर्नुपर्ने बताउँदै आएको छ भने रामेछापले २०३२ सालको नापीअनुसार नै सीमा कायम गर्नुपर्ने अडान राखेको छ । 

सैलुङ्गको टुप्पोलाई सिमाना कामय गर्दा सैलुङ्गको अधिकांश भाग दोलखामा पर्ने र नापीअनुसार कायम गर्दा सो भाग रामेछापमा बढी पर्ने भएकाले दुवै जिल्लाले आ–आफ्नो अडान राखेका छन् । 

हवाई दृश्यका आधारमा तयार भएको टोपोग्राफिक नक्सालाई आधार मान्दा सैलुङ्गको सय थुप्का भएको क्षेत्रमध्ये आधा भू–भाग रामेछाप जिल्लामा पर्दछ । विसं २०३२ को नापी नक्साकै आधारमा सीमा कायम गरिनुपर्ने रामेछापले दाबी गर्दै आएको छ । 

दोलखाले सैलुङ्गको सीमा विवादलाई उचालेको तर यो आवश्यक नभएको रामेछापको दोरम्बा सैलुङ्ग गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले बताए । दोलखाले रामेछापमाथि हेपाहा प्रवृत्ति देखाएकाले सीमा विवादले चर्को रुप लिएको उनको भनाइ थियो ।  

रामेछापतर्फ पर्ने दोरम्बा सैलुङ्ग गाउँपालिकाले सैलुङ्गका अधिकांश भूमि नापी नक्सामा आफ्नो रहेको दाबी गर्दै आएको छ भने दोलखाले पानीढलो सीमा कायम गर्नुपर्ने दाबी रहेको जिल्ला समन्वय समिति दोलखाका निवर्तमान प्रमुख डबल पाण्डेले बताए । उनले भने, “यो क्षेत्र हाम्रो (दोलखा) जिल्लामा पर्ने भएर नै गाउँपालिकाको नाम सैलुङ्ग गाउँपालिका राखिएको छ ।”

सैलुङ कुन जिल्लाको हो भन्ने विवाद निरुपण गर्न नसक्दा यस क्षेत्रको पूर्वाधार निर्माणसमेत ओझेलमा परेको छ । यसअघि प्रदेशमार्फत निर्माण गरिएको भ्यू टावर पनि संरक्षणको अभावमा जीर्ण बनिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै