• २०८१ बैशाख १६ आइतबार

कांग्रेस नवलपरासीमा विवादः जिल्ला सम्मेलनमा सहभागी हुन शेखरको आग्रह अस्वीकार

kharibot

परासी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नवलपरासीमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न आफू तयार भएको बताएका छन् । शुक्रबार परासीमा संस्थापन पक्षका नेताहरुसँगको छलफलमा उनले नवलपरासीको विवादका बारेमा पार्टीको पदाधिकारी तहमा गम्भीर छलफल भएको बताएका हुन ।

नवलपरासीमा एकलौटी रुपमा आयोजना गरिएको जिल्ला सम्मेलन संस्थापन पक्षसहित अधिकांश नेता कार्यकर्ताहरुले बहिष्कार गरेपछि नेता कोइरालाले उनीहरुसँग छलफल गरेका हुन् । पार्टी विधान अनुसार तल्लो तहबाट सम्मेलन गर्दै जिल्ला सम्मेलन गर्नुपर्ने भएपनि नवलपरासीमा जिल्ला सभापतिले एकपक्षीय रुपमा जिल्ला सम्मेलनको आह्वान गरेपछि अधिकांश नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

जिल्ला सम्मेलनको उद्घाटन गर्न गएका कोइरालाले परासीमा संस्थापन पक्षका नेताहरुसँग छलफल गरेका हुन् । उनले भने,  ‘नवलपरासीको विषयमा पदाधिकारी बैठकमा गहन छलफल भएको छ । यी कुराहरु म केन्द्रमा पनि राख्छु । कांग्रेस एउटै पार्टी हो । मासबेस पार्टी भएकाले यस्ता समस्याहरु आउँछन् । केन्द्रले केन्द्रीय सदस्यहरुलाई विवाद समाधानका लागि पठाउने प्रचलन थियो । यसपटक पनि यो विषयमा केन्द्रले कोही पदाधिकारी साथीलाई पठाउला । कोहि नआए म आफै आएर पनि समस्या सल्टाउँछु ।’

नेता कोइरालाले असन्तुष्ट नेता कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा सहभागी हुन र पार्टी एकढिक्का भएको सन्देश जिल्लामा दिन आग्रह गरे ।  ‘मेरो आग्रह छ कि तपाईहरु पनि हिड्नुस् । सम्मेलनमा सहभागी हुनुस् । पार्टी एक ढिक्का भएको सन्देश पनि जान्छ,’ उनले भने, ‘जिल्लामा पार्टी एक ढिक्का भएको महसुस तपाईहरुले गराउनुपर्यो । निर्वाचन ८४ मै हुन्छ । ८४ बाट ८५ मा सर्दैन । मध्यावधिको पनि चर्चा सुरु भएको छ। तर त्यो सम्भावना छैन । हल्ला मात्रै हो । ८४ मै निर्वाचन हुन्छ । त्यसको तयारी पनि जिल्ला सम्मेलनले नै गर्छ ।’

उनले सम्मेलनमा सहभागी भएर आफ्ना कुरा राख्न नेताहरुलाई आग्रह गरे । तर नेताहरुले एकपक्षीय र विधानविपरीत आयोजना गरिएको सम्मेलनमा सहभागी हुन नसकिने प्रष्ट पार्दै सम्मलेन बहिष्कार गरे । छलफलमा केन्द्रीय सदस्य एवं नपलपरासीका पूर्व जिल्ला सभापति देवेन्द्रराज कँडेल, संविधान सभा सदस्य एवं प्रदेशसभा सदस्य देवकरण कलवार, प्रदेश सभा सदस्य एवं महाधिवेशन प्रतिनिधि बैजनाथ कलवार, प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुकुल आचार्य, प्रतिनिधिसभा क्षेत्र न. २ क्षेत्रीय सभापति माधवप्रसाद पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा खका सभापति रामचन्द्र साहनी, तरुण दल जिल्ला सभापति, महिला संघ, मुस्लिम संघलगायत विभिन्न पालिका सभापतिहरु सहभागी थिए ।

उनीहरुले जिल्ला सम्मेलन पार्टीको विधान सम्मत नभएको, सम्मेलनका सम्बन्धमा मातहतका क्षेत्रीय, नगर, गाउँ समितिसँग छलफल र परामर्श नगरी एकलौटी आयोजना गरिएको दावी गरेका छन् ।

साथै तल्लो तहबाट अधिवेशन नगराई एकै पटक कुनै छलफल बिनै जिल्ला सम्मेलन आयोजना गरिएको, जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्य देवेन्द्र कँडेल र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीसँग सल्लाह, सुझाव, परामर्श र निमन्त्रणा नगरेको उनीहरुको भनाई छ ।

साथै जिल्लास्थित पार्टीको भ्रातृसंस्थाहरुलाई पनि निमन्त्रणा नगरेको भन्दै जिल्लाका नेताहरुले पार्टी सभापतिलाई लिखित जानकारी गराएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै