• २०८१ बैशाख २४ सोमबार

परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानार्कषणपत्र

kharibot

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ । 

रास्वपाका सांसदले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानार्कषण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेको हो । 

“युद्धरत पक्षको नियन्त्रणमा रहेका नेपालीको यथाशीघ्र रिहाइ र उद्धार सम्बन्धमा परराष्ट्रमन्त्रीलाई ध्यानार्कषणपत्र बुझाएका हौँ”, सचेतक निशा डाँगीले भनिन्  । 

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीले ध्यानार्कषणपत्र बुझाएका छन् । 

“स्वस्फुर्त रुसी सेनामा भर्ना भएर हाल कार्यरत नेपालीको यथार्थ विवरण पत्ता लगाई उनीहरुलाई नेपाल फर्काउन, घाइतेको समुचित उपचारको प्रबन्ध मिलाउन र बन्धक बनाइएकाको सकुशल रिहाइका लागि यथाशीघ्र कूटनीतिक पहलमा जोड दिन आग्रह गर्दछौँ”, ध्यानार्कषणपत्रमा उल्लेख छ, “हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासले ५८ जना विदेशीलाई मुक्त गरिसकेको सन्दर्भमा, विपिन अझैसम्म बन्धक नै रहनुमा सरकारले रिहाइका लागि गरेको पहल पर्याप्त भएन कि भन्ने रास्वपाको बुझाइ छ ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै